© 2026
काठमाडौँ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अहिले राक्षसीराज चलिरहेको टिप्पणी गर्दै त्यसको विरोधमा युवाहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
एमालेको जनवर्गीय सङ्गठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूलाई विनाकारण गिरफ्तार गरी १३ दिन हिरासतमा राखेर सरकारले राक्षसीराज सञ्चालन गरिरहेको पुष्टि गरेको आरोप लगाए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूले देशका लागि ६० वर्ष योगदान गरेको, जेलनेल र यातना भोगेको व्यक्तिलाई कुनै कारणबिना गिरफ्तार गरी हिरासतमा राखिएको भन्दै सरकारको आलोचना गरे ।
‘१३ दिन किन थुनेको ? जङ्गली राज हो यो ? मनपरीतन्त्र चलाउन पाउने ठाउँ हो ? ६० वर्ष देशका लागि काम गरेको, योगदान गरेको र जेलनेल सहेको पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई अकारण गिरफ्तार गरेर हिरासतमा किन राखियो ? यो जङ्गलीराज मात्रै होइन, राक्षसीराज हो,’ उनले भने, ‘यदि राक्षसीराज चलाउन खोजिन्छ भने नेपाली जनता, युवा र नेसनल युथ फोर्स चुप लागेर बस्दैन ।’
ओलीले आफू पक्राउ परेपछि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका पार्टीका नेता तथा कार्यकर्तामाथि सरकारले दुव्र्यवहार र बल प्रयोग गरेको आरोपसमेत लगाए । शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारी पक्षबाट हस्तक्षेप भए नेसनल भोलेन्टियर्स फोर्सले प्रतिवाद गर्ने उनको भनाइ थियो ।
नेसनल भोलेन्टियर्स फोर्स भिडन्त र झैझगडाका लागि गठन नगरिएको दाबी गर्दै ओलीले यसलाई शान्ति स्थापना, सामाजिक विकृति नियन्त्रण र सकारात्मक परिवर्तनका लागि परिचालन गर्नुपर्ने बताए । फोर्सले कसैसँग अनावश्यक विवाद नगर्ने तर आक्रमण भए प्रतिवाद गर्न पछि नहट्ने उनको चेतावनी थियो ।
‘नेसनल भोलेन्टियर्स फोर्स देखाउनका लागि मात्रै होइन, काम र परिवर्तनका लागि गठन गरिएको हो। यो शान्तिपूर्ण फोर्स हो। लड्ने–भिड्ने होइन, राम्रो काम गर्न आग्रह गर्ने सङ्गठन हो । तर कसैले आक्रमण गर्न आयो वा हमला ग¥यो भने के गर्ने ?’ उनले प्रश्न गरे ।
ओलीले पार्टी अध्यक्ष पक्राउ परेपछि सडकमा उत्रिएका युवामाथि लाठी प्रहार गरिएको, अपमानजनक व्यवहार गरिएको र उनीहरूलाई कुटपिट गरेर सरकारले आनन्द लिएको भन्दै आलोचना गरे । कानुनभन्दा माथि सरकारको आदेशलाई राखेर शान्तिपूर्ण आन्दोलनमा सहभागीमाथि दमन गरिएको उनको आरोप थियो ।
उनले नेसनल युथ फोर्सलाई सङ्गठन विस्तारमा मात्र सीमित नराखी राष्ट्रव्यापी रूपमा सुदृढ र परिणाममुखी बनाउन निर्देशन दिए । देशभर भइरहेका बेथिति, विकृति र गलत गतिविधिविरुद्ध खबरदारी गर्न फोर्स सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।
‘हामी निहुँ खोज्न जाँदैनौँ, कहिल्यै भिडन्त खोज्दैनौँ । हामीसँग तागत नभएर होइन। तागत छ भन्दैमा पहलवानले मुक्का हान्दै हिँड्दैन । तर कसैले आफूमाथि प्रहार गर्छ भने त्यसको प्रतिकार गर्न बाध्य हुने अवस्था आउँछ,’ ओलीले भने ।