Butwal Today

औषधी व्यवसायी संघको राष्ट्रिय अधिवेशन र निर्वाचन स्थगित

६ मंसिर २०८३, आइतबार
अ
अ+
अ-

काठमाडौँ ।

नेपाल औषधि व्यवसायी सङ्घ (एनसीडीए) को १५औँ राष्ट्रिय अधिवेशन, ५३औँ केन्द्रीय वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रिया स्थगित भएको छ ।
उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशपछि सङ्घले शनिबार र आइतबार सुर्खेतमा आयोजना गर्ने तय भएका कार्यक्रम स्थगित गरेको हो । सङ्घको केन्द्रीय समितिको मङ्सिर ४ गते शुक्रबार बसेको आकस्मिक बैठकले अधिवेशन, साधारणसभा र निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको महासचिव श्रीधर खनालद्वारा जारी सूचनामा उल्लेख छ ।
सङ्घको केन्द्रीय समितिले केही सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेपछि विवाद उत्पन्न भएको थियो । सोही विषयलाई लिएर लक्ष्मीप्रसाद तिम्सिनाले जिल्ला प्रशासन कार्यालय काठमाडौँसमेतलाई विपक्षी बनाई उत्प्रेषणसम्बन्धी रिट निवेदन दायर गरेका थिए ।
उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश शिवबहादुर रानाभाटको एकल इजलासले मङ्सिर २ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतले प्रकाशित मतदाता नामावली, निर्वाचन कार्यतालिका तथा त्यससँग सम्बन्धित सम्पूर्ण प्रक्रिया हाललाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।
निवेदकले माग गरेको अन्तरिम आदेशका सम्बन्धमा दुवै पक्षसँग छलफल गरी निष्कर्षमा पुग्न उपयुक्त हुने भन्दै अदालतले मङ्सिर ८ गतेका लागि पेसी तोकेको छ ।
सोही मितिसम्म निर्वाचनसम्बन्धी सम्पूर्ण कामकारबाही यथास्थितिमा राख्न आदेश भएपछि सङ्घले अधिवेशन र साधारणसभाका कार्यक्रम स्थगित गरेको हो ।
यता सङ्घका महासचिव खनालले आफूहरूलाई जानकारी नै नदिई मुद्दा दायर गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । मतदाता नामावलीमा नाम समावेश नभएको विषयमा समयमै दाबीविरोध नगरी अदालतमा मुद्दा दायर गर्नु व्यावसायिक हितविपरीत भएको उनको भनाइ छ ।
‘मतदाता नामावलीमा नामहरू नपरेपछि हामीलाई विपक्षी बनाएर मुद्दा हाल्ने काम भयो । करिब चार सय प्रतिनिधि सुर्खेत आइपुग्नुभएको थियो । मतदाता नामावलीमा नाम नभएको भए दाबीविरोध किन गर्नुभएन ?’ खनालले भने ।
सङ्घमा हाल ३१ हजार ५७५ साधारण सदस्य रहेको जनाइएको छ । अधिवेशन तथा निर्वाचनका लागि करिब चार सय प्रतिनिधि सुर्खेत पुगिसकेको अवस्थामा कार्यक्रम स्थगित गर्नुपरेको सङ्घले जनाएको छ ।कार्यक्रम स्थगित हुँदा प्रतिनिधि तथा सहभागीमा पर्न गएको असुविधाप्रति सङ्घले क्षमासमेत मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?