Butwal Today

साहुबाबा कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

५ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

बुटवल।

बुटवल उपमहानगरपालिका–१६, सेमलारस्थित साहुबाबा कृषि सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष सुदर्शन देव जोशीको अध्यक्षतामा सम्पन्न सभामा बुटवल उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष कृष्णप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले साहुबाबा कृषि सहकारी किसानको साझा संस्था भएको बताउँदै किसानलाई उत्पादन र व्यावसायिक कृषिसँग जोड्नुपर्नेमा जोड दिए।

उनले किसान वर्षे र हिउँदे खेतीमा मात्र नभई सधैँ हराभरा हुनुपर्छ भन्ने मान्यताका साथ आफूहरू अघि बढिरहेको बताए। किसानलाई प्राथमिकतामा राख्दै बुटवलमा रहेका तीन कृषि सहकारी र एउटा महिला सहकारीलाई उत्पादनसँग जोड्ने उद्देश्यले प्रतिव्यक्ति एकरएक लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

पौडेलले बुटवल–१६ मा सिँचाइ र खानेपानी निःशुल्क रहेको उल्लेख गर्दै कृषि क्षेत्रको व्यावसायीकरणमा आफूहरू दृढ रहेको बताए। आगामी नेतृत्वले समेत कृषिको व्यावसायीकरणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीको विशेष आतिथ्यता रहेको थियो। उनले किसानलाई व्यावसायिक कृषिमा जोड्ने कार्यमा नगरपालिका सधैँ सहयोग र सहकार्यका लागि तयार रहेको बताए।

कार्यक्रममा अग्रज कृषि विज्ञ ज्ञानप्रसाद सापकोटा, नमुना महिला साकोसकी उपाध्यक्ष उमा पोखरेललगायतको आतिथ्यता रहेको थियो। सहकारीकी उपाध्यक्ष सम्झना ज्ञवालीले स्वागत मन्तव्य राखेकी थिइन्।

३१ जना सदस्यबाट सुरु भएको सहकारीमा हाल ३१६ जना सदस्य आबद्ध रहेका छन्। सभामा कोषाध्यक्ष चन्द्रकला आचार्य सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने लेखा प्रतिवेदन पूर्णप्रकाश सापकोटाले प्रस्तुत गरेका थिए। कार्यक्रममा शेयर सदस्य गंगा नेपालले समेत आफ्ना धारणा राखेकी थिइन्।

साधारणसभाका अवसरमा उत्कृष्ट शेयर उद्यमी सदस्यका रूपमा दामोदर बस्याल र सम्मानित कृषक व्यवसायीका रूपमा भेषबहादुर पाण्डेलाई सम्मान गरिएको थियो। त्यसैगरी असल बचतकर्ता तथा ऋणीका रूपमा शनिश्चरी दंगधरिया थारु र गोरखप्रसाद थारुलाई सम्मान गरिएको थियो। साथै ज्येष्ठ सदस्यलाई समेत सम्मान गरिएको संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?