© 2026
गुल्मी ।
हरिबोधिनी एकादशीको अवसरमा आज शुक्रबार गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले स्थानीय बिदा दिएका छन् । रेसुङ्गा र र गुल्मीदरबारले सूचना जारी गरी आज हरिबोधिनी एकादशीका दिन रेसुङ्गा पोखरीमा लाग्ने धार्मिक मेलालाई दृष्टिगत गर्दै पालिका अन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयमा स्थानीय बिदा दिने निर्णय गरेको जनाएका छन् ।
गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापा र रेसुङ्गा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पन्तद्वारा हस्ताक्षरित जारी सूचनामा कार्यपालिकाको पूर्व निर्णय अनुसार प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिनमा स्थानीय बिदा दिँदै आएको बताएका छन् ।
हरिबोधिनी एकादशीका अवसरमा जिल्लाकै प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल रेसुङ्गा पोखरीमा ठूलो धार्मिक मेला लाग्ने गर्दछ ।आजको दिन पोखरीमा स्नान तथा पूजाआजा गर्दा पुण्य प्राप्त हुने, मोक्ष मिल्ने र मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ जिल्ला भित्र तथा बाहिरबाट समेत भक्तजनहरु रेसुङ्गा पोखरीमा आईपुगेका छन् ।
धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यले परिचित रेसुङ्गा गुल्मीको प्रमुख धार्मिकस्थलका रूपमा समेत स्थापित छ । हरिबोधिनी एकादशीमा यहाँ स्नान गर्न, दर्शन गर्न, पूजाआजा तथा धार्मिक मेला भर्न बिहानैदेखि श्रद्धालुहरुको घुइँचो लागेको छ ।