चन्द्राैटा ।
कपिलवस्तुमा धान काट्ने कम्बाइन मेसिन दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । महाराजगञ्ज नगरपालिका-९ सेमरीमा सडक छेउको पोखरीमा कम्बाइन मेसिन पल्टिँदा दुर्घटना भएको हो ।
लु.५ त. १४ नम्बरको मेसिन अनियन्त्रित भएर पोखरीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरी निरीक्षक राजन ढकालका अनुसार भारतको लखिमपुर जिल्ला, खिरी थाना निवासी ३८ वर्षीय महेन्द्र कुशुवाले मेसिन चलाइरहेका थिए । दुर्घटनामा चालक महेन्द्रसहित चार जना घाइते भएका थिए ।
प्रहरीका अनुसार घाइतेमध्ये सहचालक दिनेश कुशुवाको उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पुर्याउने क्रममा मृत्यु भएको हो । अन्य घाइते १९ वर्षीय त्रिपाल कुशुवा र बाणगंगा नगरपालिका-१० का ३२ वर्षीय कलिम कुशुवासहित चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।