Butwal Today

चिच्याएर वर माग्ने सत्यवती मेलाको तयारी तीव्र, एक लाखभन्दा बढी दर्शनार्थी आउने अपेक्षा

१ मंसिर २०८३, मंगलवार
अ
अ+
अ-

बुटवल । रातको सुनसान समयमा तालको किनारमा पुगेर चिच्याउँदै मनोकामना माग्ने अनौठो धार्मिक परम्परा बोकेको पाल्पाको सत्यवती बज्यै मन्दिरमा यस वर्षको मेलाको तयारी तीव्र पारिएको छ । तिनाउ गाउँपालिका–४ स्थित सत्यवती मन्दिरमा आगामी मंसिर ४ गतेदेखि ८ गतेसम्म मेला सञ्चालन हुने भएपछि मन्दिर व्यवस्थापन समिति, गाउँपालिका र सुरक्षा निकाय तयारीमा जुटेका छन् ।

यस वर्ष मेलामा एक लाखभन्दा बढी दर्शनार्थी सहभागी हुने अपेक्षा गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । दर्शनार्थीको चापलाई मध्यनजर गर्दै सुरक्षा, यातायात, विद्युत्, खानेपानी तथा अन्य आवश्यक व्यवस्थापनका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।

सत्यवती मन्दिर विकास समितिका अध्यक्ष दानबहादुर गाहाका अनुसार मेलालाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक तयारी भइरहेको छ । मेला अवधिभर नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिनेछ । मन्दिर परिसर र दर्शनार्थीको आवागमन हुने स्थानमा निगरानीका लागि सीसीटीभी क्यामेरा जडान गरिएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले मेला अवधिमा शान्ति सुरक्षाको अवस्था चुस्तदुरुस्त राख्न सम्बन्धित सुरक्षा निकायलाई आग्रह गरेका छन् । ठूलो संख्यामा भक्तजन आउने भएकाले सुरक्षा व्यवस्थापन, भीड नियन्त्रण र सवारी आवागमनलाई व्यवस्थित बनाउन आवश्यक समन्वय गर्न उनले जोड दिएका छन् ।

यसैबीच, तिनाउ गाउँपालिकाले सत्यवती मन्दिरको धार्मिक तथा पर्यटकीय महत्वलाई ध्यानमा राखेर पूर्वाधार विकासमा समेत जोड दिएको छ । गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जीर्ण अवस्थामा रहेको मन्दिरलाई गुरुयोजना बनाएर पुनर्निर्माण गरिएको बताए । पुनर्निर्माण सम्पन्न मन्दिरको उद्घाटनसमेत अध्यक्ष श्रेष्ठले गरेका छन् ।

उनका अनुसार मन्दिरको पूर्वाधार विकास र मन्दिरसम्म पुग्ने सडक निर्माण तथा स्तरोन्नतिका काममा गाउँपालिकाले मन्दिर व्यवस्थापन समितिसँग साझेदारी गरेको छ । धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको सत्यवतीलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गाउँपालिकाको योजना रहेको उनले बताए ।

यस वर्ष दर्शनार्थीको आवागमन सहज बनाउन सडक मर्मत तथा यातायात व्यवस्थापनमा पनि ध्यान दिइएको छ । सडकको अवस्था सहज रहेकाले विगतको तुलनामा सवारी आवागमन र ट्राफिक व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ ।

सत्यवती मेला अन्य धार्मिक मेलाभन्दा फरक परम्पराका कारण पनि चर्चित छ । सत्यवती बज्यै कान नसुन्ने भएकाले भक्तजनले तालको किनारमा पुगेर चिच्याउँदै आफूले चाहेको वर माग्ने जनविश्वास रहिआएको छ । रातको समयमा तालको परिक्रमा गर्दै बाँस, निगालो वा सालको लिङ्गो गाडेर चिच्याउँदै वर माग्ने र भोलिपल्ट बिहान आफूले गाडेको लिङ्गो चिनेर पूजा गर्ने परम्परा छ ।

यही विशिष्ट धार्मिक मान्यताका कारण पाल्पासहित रुपन्देही, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवनलगायतका जिल्लाबाट भक्तजन आउने गर्छन् । भारतका विभिन्न स्थानबाट समेत दर्शनार्थी आउने गरेका छन् ।

रातको समयमा चिच्याएर वर माग्ने र पूजा गर्ने परम्परा रहेकाले मेला अवधिमा बहुमूल्य गरगहना तथा अनावश्यक महँगा सामान नल्याउन आयोजकले भक्तजनलाई आग्रह गरेका छन् । भीडभाडमा आफ्ना सामानको सुरक्षा आफैँ गर्न र सुरक्षा निकाय तथा स्वयंसेवकले दिएको निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ ।

धार्मिक आस्था, मौलिक परम्परा र प्राकृतिक सौन्दर्यको संगमका रूपमा रहेको सत्यवती मेला पछिल्ला वर्षमा पाल्पाको प्रमुख धार्मिक पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?