Butwal Today

अर्घाखाँचीमा गोठमा आगलागी एक महिला घाइते

१ मंसिर २०८३, मंगलवार
अ
अ+
अ-

अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ सल्लीकोटमा गोठमा आगलागी हुँदा एक महिला घाइते भएकी छन् ।

मंगलबार बिहान करिब ८ बजे स्थानीय ६३ वर्षीया टोमकला बस्यालको टिनले छाएको कच्ची गोठमा अचानक आगलागी भएको हो । आगलागीका बेला गोठमा बाँधिएको भैँसी फुकाउने क्रममा बस्यालको अनुहार र दायाँ हात जलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरिक्षक जीवन लामिछानेले बताए ।

घाइते बस्याललाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको थियो । सन्धिखर्कमा सामान्य उपचार पछि थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लामिछानेले जानकारी दिएका छन् ।

आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्घा तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । गोठमा लागेको आगो नियन्त्रणमा लिन दमकल, प्रहरी र स्थानीयवासी परिचालित भएका थिए । आगलागीको कारण खुल्न सकेको छैन भने गोठ तथा त्यहाँ रहेका सामग्रीमा भएको क्षतिको विवरणसमेत आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?