© 2026
बुटवल । तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठलाई बुटवलमा सामूहिक रूपमा मनाउने तयारी गरिएको छ । मैथिल समाज नेपाल रूपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका–११, नहरपुरस्थित छठघाटमा यस वर्ष पनि सामूहिक छठ पूजा हुन लागेको हो ।
छठ पर्वको अवसरमा नहरपुरस्थित छठघाटलाई सजाउने तथा पूजाका लागि आवश्यक व्यवस्था मिलाउने काम भइरहेको आयोजकले जनाएको छ । सामूहिक रूपमा आयोजना गरिने पूजामा बुटवल तथा आसपासका क्षेत्रका श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसमेत पूजामा सहभागी हुने कार्यक्रम रहेको मैथिल समाज नेपाल रूपन्देहीका सचिव मनोजकुमार मण्डलले जानकारी दिए ।
समाजका अध्यक्ष उदयकुमार सिंहले छठ मैथिल भाषी समुदायको मात्र नभई समग्र नेपालीको साझा धार्मिक तथा सांस्कृतिक पर्व भएको बताए । सूर्य, जल र प्रकृतिको उपासनासँग जोडिएको यस पर्वले धार्मिक आस्थासँगै सामाजिक एकता र सद्भावको सन्देश दिने उनको भनाइ छ ।
उनका अनुसार छठमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अघ्र्य अर्पण गरिन्छ । प्रकृति र सूर्यप्रतिको सम्मान तथा आस्थासँग जोडिएको यो पर्व तराई–मधेसमा मात्र सीमित नरही पछिल्लो समय पहाडी समुदायमा समेत लोकप्रिय बन्दै गएको छ । नहरपुरमा आयोजना हुने सामूहिक छठ पूजामा सहभागी हुन उनले सबै समुदायका श्रद्धालु तथा नगरवासीलाई आग्रह गरेका छन् ।
चार दिनसम्म विभिन्न धार्मिक विधि पूरा गरेर मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरिन्छ । अन्तिम दिन बिहान सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुने परम्परा छ ।
छठका अवसरमा व्रतालुहरू नदी, पोखरी तथा जलाशयका किनारमा पूजास्थल बनाएर उपवाससहित सूर्यदेव र छठी माताको आराधना गर्छन् । पूजामा ठेकुवा, भुसुवा, फलफूल, नरिवल, उखुलगायतका प्रसाद तथा सामग्री चढाउने चलन छ । यस पर्वमा परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गरिन्छ ।
धार्मिक अनुष्ठानसँगै पारिवारिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा समेत छठ पर्वलाई लिने गरिन्छ । पछिल्ला वर्षमा बुटवलसहित रूपन्देहीका विभिन्न स्थानमा सामूहिक रूपमा छठ मनाउने प्रचलन विस्तार हुँदै गएको छ । विभिन्न समुदायका मानिस एकै ठाउँमा भेला भएर पर्व मनाउने अभ्यासले सामाजिक सम्बन्ध र आपसी सद्भावलाई थप बलियो बनाउँदै लगेको छ ।
नहरपुरमा आयोजना हुने सामूहिक छठ पूजालाई सभ्य, भव्य र व्यवस्थित बनाउन आवश्यक तयारी भइरहेको आयोजकले जनाएको छ । मैथिल समाज नेपाल रूपन्देहीले सम्पूर्ण श्रद्धालु, भक्तजन तथा नगरवासीलाई पूजामा सहभागी भई पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्न आग्रह गरेको छ ।