Butwal Today

श्रीनगरमा पूर्वप्रधानमन्त्री मरिचमानको शालिक निर्माण हुँदै

२९ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

सल्यान । सल्यानमा जन्मिएर नेपालको प्रधानमन्त्री सम्मको जिम्मेवारी सम्हालेका स्वर्गीय मरीचमान सिंह श्रेष्ठको सम्मानमा शालिक निर्माण गर्न थालिएको छ । सल्यानको शारदा नगरपालिका १, श्रीनगर स्थित रुकुम चोकमा शालिक निर्माण कार्य सुरु गरिएको हो ।

श्रेष्ठको ऐतिहासिक योगदान र व्यक्तित्वलाई भावी पुस्तासम्म परिचित गराउने उद्देश्यले शालिक निर्माणको काम अघि बढाइएको सल्यानी युवा संजालले जनाएको छ । यसका लागि केही समय अघिदेखि नै तयारी थालिएको संजालका अध्यक्ष सुदर्शन बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार शालिक निर्माणस्थल सम्मको सडक फराकिलो बनाउने काम तिहार अघि नै गरिएको थियो । शालिक राख्न आवश्यक जग निर्माण लगायतका काम भने कार्तिक २६ गतेदेखि सुरु गरिएको हो । शालिक निर्माणको समग्र संयोजनको जिम्मेवारी युवराज खड्कालाई र आर्थिक संयोजनको जिम्मेवारी खिम डिसीलाई दिइएको छ । निर्माण सम्पन्न भएको तीन दिनभित्र आम्दानी तथा खर्च सहित सम्पूर्ण आर्थिक कारोबारको विवरण सार्वजनिक गरिने सल्यानी युवा संजालले जनाएको छ । शालिक निर्माण कुनै एक संस्था वा समूहको मात्र नभई सम्पूर्ण सल्यानी तथा देशवासीको साझा गौरवसँग जोडिएको विषय भएकाले सबैको सहयोग र सहभागिताका लागि संजालले आग्रह गरेको छ ।

वि.सं. १९९७ कात्तिक १७ गते सल्यानको खलंगा बजारमा जन्मिएका श्रेष्ठ वि.सं. २०४३ देखि २०४६ सम्म नेपालको प्रधानमन्त्री थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वप्रधानमन्त्री सूचीमा उनलाई नेपालको २७औँ प्रधानमन्त्रीका रूपमा उल्लेख गरिएको छ । राजनीतिमा सक्रिय हुनु अघि उनले खलंगा स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा समेत काम गरेको बताइन्छ । वि.सं. २०३० मा राष्ट्रिय पञ्चायतको सदस्य बनेका श्रेष्ठ २०३८ सालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष भएका थिए ।

उनी प्रधानमन्त्री भएका बेला २०४५ / ०४६ सालमा नेपाल भारत पारवहन तथा व्यापार सम्बन्धी विवाद चर्किएको थियो । त्यस क्रममा भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि उनको सरकारले वैकल्पिक माध्यमबाट पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तु आपूर्ति गर्ने प्रयास गरेको थियो । राष्ट्रिय स्वाधीनताको अडानका कारण उनलाई समर्थकहरूले राष्ट्रवादी नेताका रूपमा स्मरण गर्ने गरेका छन् ।

यद्यपि, पञ्चायती व्यवस्थाविरुद्ध २०४६ सालमा भएको जनआन्दोलनका क्रममा सरकारबाट भएको दमनका विषयमा श्रेष्ठको कार्यकाल आलोचनामुक्त भने छैन । २०४६ सालको जन आन्दोलन उत्कर्षमा पुगेपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि सक्रिय राजनीतिबाट टाढिएका श्रेष्ठको २०७० साउन ३० गते काठमाडौँमा ७१ वर्षको उमेरमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?