Butwal Today

भैरहवा र आसपास छठ पर्वको तयारी अन्तिम चरणमा, सुरक्षा र व्यवस्थापनमा विशेष जोड

२८ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

भैरहवा  ।

सूर्यदेव र छठी माताको आराधना गरी मनाइने आस्थाको महापर्व छठलाई लक्षित गर्दै भैरहवा तथा आसपासका क्षेत्रमा तयारी तीव्र पारिएको छ। छठ पर्व नजिकिएसँगै पूजा स्थलको सरसफाइ, घाट तथा बेदी निर्माण, शान्ति सुरक्षा र सवारीसाधन पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।

रुपन्देहीको सिद्धार्थनगरस्थित श्रीराम जानकी हनुमान मन्दिर परिसर, कालीभक्ति गण, गोनहिया, बालापिर लगायतका छ्ठ घाटहरुमा छठ पूजाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको व्यवस्थापन समितिले जनाएको छ। छठ पर्वमा हजारौँ श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षासहित समितिले पूजा व्यवस्थापनदेखि सुरक्षा र यातायात व्यवस्थापनसम्मका कामलाई तीव्रता दिएको हो।

श्रीराम जानकी हनुमान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र रौनियारले छठ पर्वका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार व्रतालु तथा श्रद्धालु भक्तजनलाई सहज रूपमा पूजा आराधना गर्ने वातावरण बनाउन बेदी निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ।

पर्वमा सहभागी हुने भक्तजनको भीडलाई व्यवस्थित गर्न पार्किङको उचित प्रबन्ध मिलाइएको र शान्ति सुरक्षालाई समेत विशेष प्राथमिकता दिइएको अध्यक्ष रौनियारले बताए । उनले पर्वका क्रममा कुनै असहज अवस्था सिर्जना हुन नदिन आवश्यक सतर्कता अपनाइएको उल्लेख गरे ।

अध्यक्ष रौनियारले राज्य, धर्म र संस्कृतिलाई राजनीतिसँगै जोडेर नभई आपसी सहकार्य र सम्मानका साथ अगाडि बढाउन सरकारसँग आग्रह गरे । नेपाली समाजको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थाले सामाजिक एकता तथा राष्ट्रिय सद्भावलाई बलियो बनाउने उनको भनाइ छ।

यस्तै गोनहिया छ्ठ पूजा समितिका अध्यक्ष विरेन्द्र कुर्मीले गोनहियामा विगत ५ वर्ष देखि स्थाइ वेदीहरु निर्माण गरि छठ पूजा गरिएको बताए । उनले छठ पूजामा ब्रतालु महिलाहरुलाइ ख्याल गरि लखनउबाट जागरण टोलीको विषेश प्रस्तुति रहने बताए ।

छठ पर्वले धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिने गरेको कुर्मीले बताए । जीव कल्याण, विश्व शान्ति तथा सन्तानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै मनाइने यस पर्वप्रति पछिल्लो समय विश्वभर आकर्षण बढ्दै गएको उनको भनाइ छ।

विशेषगरी तराई–मधेस समुदायमा परम्परागत रूपमा मनाइँदै आएको छठ पर्व अहिले पहाडी, मधेसीलगायत सबै समुदायको साझा सांस्कृतिक उत्सवका रूपमा स्थापित हुँदै गएको छ। जातजाति, भाषा र क्षेत्रको सीमाभन्दा माथि उठेर विभिन्न समुदायका मानिसहरू छठ पूजाको तयारी र व्यवस्थापनमा सहभागी हुनुले सामाजिक एकताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।

भैरहवा, सिद्धार्थनगर तथा आसपासका क्षेत्रमा पनि छठ पर्वलाई सामूहिक रूपमा मनाउने उत्साह बढ्दै गएको छ। जलाशय, नदी, पोखरी तथा पूजा स्थलमा श्रद्धालुहरूको चहलपहल बढेको छ भने स्थानीय स्तरमा सरसफाइ, सजावट र व्यवस्थापनका काम भइरहेका छन्।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्वले प्रकृति, पर्यावरण र मानव जीवनबीचको सम्बन्धलाई समेत उजागर गर्छ। धार्मिक आस्था, अनुशासन, पवित्रता र सामूहिक सहभागिताको प्रतीक बनेको छठले भैरहवासहित रुपन्देहीको सामाजिक तथा सांस्कृतिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?