© 2026
भैरहवा ।
रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले आफ्नो निर्वाचन क्षेत्रका बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेका छन् । मतदाताका गुनासा, सुझाव र स्थानीय समस्याबारे जानकारी लिने उद्देश्यले उनले क्षेत्रका विभिन्न स्थानमा पुगेर स्थानीयसँग संवाद गरेका हुन् ।
क्षेत्र भ्रमणका क्रममा स्थानीय बासिन्दाले विशेष गरी सडक पूर्वाधार, अस्पताल तथा स्वास्थ्य सेवा र शिक्षा क्षेत्रसँग सम्बन्धित समस्या सांसद बनियासमक्ष राखेका थिए । उनीहरूले विकास निर्माणका कामलाई प्राथमिकता दिन, स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाउन तथा शैक्षिक गुणस्तर सुधार गर्न ध्यानाकर्षण गराएका थिए ।
भेटघाटका क्रममा स्थानीय जनप्रतिनिधि तथा राजनीतिक अगुवाहरूले पनि क्षेत्रको विकासका लागि विभिन्न सुझाव दिएका थिए । सियारीका सभापति रुद्र रानाभाट, वडा नम्बर ४ का सभापति कृष्णप्रसाद घिमिरे र क्षेत्रीय सभापति गणेश श्रेष्ठलगायतले स्थानीय आवश्यकता र विकासका सम्भावनाबारे धारणा राखेका थिए ।
त्यसैगरी छपियामा मत्स्य पर्यटनको विकास, स्थानीय बजार व्यवस्थापन तथा आर्थिक गतिविधि विस्तारका विषय पनि छलफलमा उठेका थिए । स्थानीयले क्षेत्रको सम्भावनाअनुसार पर्यटन तथा व्यवसाय प्रवर्द्धनका कार्यक्रम अघि बढाउनुपर्ने सुझाव दिएका थिए ।
छलफलमा पवन जयसवालले कुनै व्यक्ति विशेषलाई प्राथमिकता दिनेभन्दा सबै नागरिकलाई समान व्यवहार गर्दै जनताको आवश्यकताका आधारमा काम गर्नुपर्नेमा जोड दिए । विकासका काममा सबै क्षेत्र र समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो ।
सो अवसरमा सांसद बनियाले आफू जनताका समस्या र गुनासा सुन्नकै लागि गाउँ बस्तीमा पुगिरहेको बताए । ठुला र भव्य कार्यक्रम आयोजना गरेर जनतामाझ जानेभन्दा प्रत्यक्ष संवाद र समस्या समाधानमा केन्द्रित हुने आफ्नो प्रयास रहेको उनको भनाइ थियो ।
उनले भने, ‘हामीले व्यक्ति विशेषलाई प्राथमिकता दिएर काम गरेका छैनौँ र हाम्रो सरकारले पनि त्यस्तो अनुमति दिँदैन । सबैको भनाइ र आवश्यकताअनुसार काममा केन्द्रित हुनुपर्छ । जनताबिच जाँदा भव्य कार्यक्रम गरेर हिँड्नुभन्दा उनीहरूका कुरा सुन्ने र समस्या समाधान गर्ने हाम्रो प्राथमिकता हो ।’
सांसद बनियाका अनुसार पछिल्लो छ महिनाको कार्यकालमा मात्रै आफू ४० पटकभन्दा बढी क्षेत्रका विभिन्न स्थानमा पुगिसकेका छन् । यस अवधिमा मन्त्री तथा अन्य विशिष्ट व्यक्तित्वहरूलाई समेत निर्वाचन क्षेत्रमा ल्याएर स्थानीय समस्या र विकासका आवश्यकताबारे जानकारी गराइएको उनले बताए ।
‘यो सबै क्षेत्र भ्रमण जनताको गुनासो सुन्ने, समस्या समाधानका लागि पहल गर्ने र सांसद तथा मन्त्रीहरू पनि जनताकै बिचमा छन् भन्ने अनुभूति दिलाउने उद्देश्यले गरिएको हो,’ उनले भने ।
क्षेत्र भ्रमणलाई जनतासँग प्रत्यक्ष संवाद गर्ने माध्यमका रूपमा अघि बढाइएको बताउँदै बनियाले स्थानीय तहमा देखिएका समस्या पहिचान गरी सम्बन्धित निकायमार्फत समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।