Butwal Today

पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार

२३ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

काठमाडौं । सरकारले पशुपन्छीको संरक्षण र उनीहरूमाथि हुने क्रूर व्यवहार नियन्त्रण गर्न छुट्टै पशु कल्याण विधेयक ल्याउने तयारी गरेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विधेयकको मस्यौदा तयार गरी सरोकारवालासँग सुझाव संकलन भइरहेको जानकारी दिएकी छन् ।

कुकुर तिहारका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले पशु कल्याणका लागि कानुनी व्यवस्था थप प्रभावकारी बनाउन सरकार सक्रिय रहेको बताइन् । उनका अनुसार पशु अधिकार र कल्याणका क्षेत्रमा लामो समयदेखि उठ्दै आएको छुट्टै कानुनको माग सम्बोधन गर्न विधेयकको प्रक्रिया अघि बढाइएको हो ।

मन्त्री चौधरीले २०७८ सालमा मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त भएपछि विधेयकको मस्यौदा तयार गर्ने काम अघि बढाइएको जानकारी दिइन् । अहिले मस्यौदालाई थप परिमार्जन गर्न सम्बन्धित क्षेत्रका सरोकारवालासँग सुझाव लिने काम भइरहेको उनको भनाइ छ ।
नेपालको संविधान, मुलुकी अपराध संहिता, २०७४ र पशु कल्याण निर्देशिका, २०७३ मा समेत पशुपन्छीको संरक्षण तथा उनीहरूमाथि हुने निर्दयी व्यवहार नियन्त्रणसम्बन्धी व्यवस्था रहेको उनले उल्लेख गरिन् । विद्यमान कानुनी व्यवस्थाले पशुपन्छीलाई लापरवाहीपूर्वक पाल्ने, बेवारिसे अवस्थामा छाड्ने र उनीहरूमाथि क्रूर व्यवहार गर्ने कार्यलाई नियन्त्रण गर्न खोजेको उनले बताइन् ।

पशु कल्याण निर्देशिका, २०७३ ले पशु ढुवानीका क्रममा गरिने दुव्र्यवहारलाई निषेध गरेको छ । त्यस्तै, काममा लगाइने पशुलाई दैनिक बढीमा आठ घण्टासम्म मात्र काममा लगाउन पाउने र सातामा कम्तीमा एक दिन विश्राम दिनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।
‘नेपालको संविधान, मुलुकी अपराध संहिता र पशु कल्याण निर्देशिकाले पशुपन्छीको संरक्षण तथा उनीहरूमाथि हुने क्रूरताविरुद्ध कानुनी व्यवस्था गरेका छन्’, मन्त्री चौधरीले भनिन्, ‘विद्यमान व्यवस्थालाई थप बलियो बनाउन छुट्टै पशु कल्याण विधेयकको मस्यौदा तयार गरी सुझाव संकलन गरिरहेका छौँ ।’

सरकारले राष्ट्रिय पशु कल्याण तथा स्रोत व्यवस्थापन कार्यालय स्थापना गरी पशु कल्याणसम्बन्धी गतिविधिलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको पनि उनले जानकारी दिइन् । कार्यालयमार्फत पशु कल्याणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुका साथै आवश्यक प्राविधिक मार्गनिर्देशनसमेत प्रकाशन हुँदै आएको उनले बताइन् ।

मन्त्री चौधरीले कानुनी संरचना निर्माण गर्नु मात्र पर्याप्त नहुने भन्दै विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिइन् । पशुपन्छीमाथि हुने दुव्र्यवहार, बेवास्ता र क्रूरता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

नेपालमा पशु संरक्षणको अभ्यास ऐतिहासिक रूपमा पुरानो रहेको उल्लेख गर्दै मन्त्री चौधरीले विसं १९८४ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पशुपतिनाथ गौशाला स्थापना गरेको प्रसङ्गसमेत स्मरण गरिन् । यसले पशुपन्छीको संरक्षण र व्यवस्थापनको अभ्यास नेपालमा लामो समयदेखि हुँदै आएको देखाउने उनले बताइन् ।

पछिल्लो समय पशु अधिकार र कल्याणको विषय विश्वव्यापी रूपमा महत्त्वपूर्ण बन्दै गएको छ । पशुपन्छीलाई सुरक्षित आवास, उचित आहार, उपचार र प्राकृतिक व्यवहारअनुसार बाँच्न पाउने वातावरण उपलब्ध गराउनु पशु कल्याणको आधारभूत पक्ष मानिन्छ । सरकारले ल्याउन लागेको छुट्टै विधेयकले यी विषयलाई कानुनी रूपमा थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?