© 2026
बुटवल ।
यातायात व्यवसायीको सामूहिक लगानीमा स्थापना भएको पश्चिम नेपाल टायर एण्ड ट्रेड प्रालिले दोस्रो वार्षिक साधारणसभाबाट आफ्ना सेयर सदस्यलाई १२ प्रतिशत लाभांश वितरण गरेको छ । पश्चिम नेपालका ५० जना बस व्यवसायीको साझा लगानीमा सञ्चालित कम्पनीले व्यावसायिक कारोबार विस्तारसँगै यातायात क्षेत्रसँग सम्बन्धित अन्य व्यवसाय प्रवद्र्धन गर्ने योजना अघि सारेको छ ।
दीपावलीअन्तर्गत धनतेरसको अवसर पारेर आयोजित साधारणसभा तथा सम्मान कार्यक्रममा सेयर सदस्यलाई १२ प्रतिशत लाभांशसहित तामाको अम्खोरा र मिठाई वितरण गरिएको थियो । सोही अवसरमा बुटवल उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष एवं कम्पनीका सल्लाहकार नरिश्वर शर्मा पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पौडेलले बुटवललाई आधुनिक औद्योगिक तथा व्यावसायिक सहरका रूपमा विकास गर्न यातायात व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताए । यातायात क्षेत्रका समस्या समाधान र व्यवसाय प्रवद्र्धनका लागि उद्योग वाणिज्य संघले सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै उनले पार्किङ व्यवस्थापनलगायतका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताए ।
उनले मुलुकको आर्थिक समृद्धिका लागि उद्योग व्यवसायको विकास र भौतिक पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए ।
कम्पनीका अध्यक्ष दधिराम खरेलले यातायात व्यवसायीको हकहित संरक्षण र व्यावसायिक समृद्धिका लागि सामूहिक लगानीको अवधारणासहित कम्पनी स्थापना गरिएको बताए । यातायात व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने अन्य व्यवसायलाई समेत क्रमशः विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए ।
उनका अनुसार सहकारी अवधारणामार्फत सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण र व्यवसाय प्रवद्र्धनका गतिविधिलाई एकीकृत रूपमा अघि बढाइएको छ । यातायात व्यवसायमा देखिएका चुनौती समाधान गर्न व्यवसायीबीच सहकार्य र सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ छ ।
पत्रकारहरूसँगको अन्तरक्रियामा अध्यक्ष खरेलले यात्रुमैत्री यातायात सेवा सञ्चालनलाई कम्पनीले प्राथमिकतामा राखेको बताए । समयअनुसार व्यवसाय सञ्चालन गर्न नयाँ प्रविधि र व्यवस्थापकीय सुधारलाई समेत जोड दिइएको उनले उल्लेख गरे ।
कार्यक्रममा कम्पनीका सञ्चालक नारायण घिमिरे, जीवन बन्जाडे, मोहन पीएस, कार्यालय प्रमुख कृष्णप्रसाद भट्टराई तथा भलाई कोषका सचिव बिजेश न्यौपानेलगायतले यातायात क्षेत्रका विभिन्न समस्याबारे धारणा राखेका थिए । उनीहरूले बसपार्कमा व्यवस्थित पार्किङ, सहज बिमा सुविधा, सहकारीको प्रभावकारिता र व्यवसायीबीच एकताको आवश्यकतामाथि जोड दिएका थिए ।
५० जना बस व्यवसायीको साझा लगानीमा स्थापित कम्पनीले यातायात क्षेत्रसँग सम्बन्धित व्यवसायलाई विविधीकरण गर्दै लैजाने लक्ष्य लिएको जनाएको छ