© 2026
रोल्पा ।
रोल्पाको गंगादेव गाउँपालिकाभित्रका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले लामो समयदेखि पारिश्रमिक नपाएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गाउँपालिका कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले रोकिएको तलब तत्काल भुक्तानी गर्न र तलब वृद्धि गराउने नाममा रकम संकलन गरिएको विषयमा निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
रास्वपा गाउँपालिका सभापति तिलक राज वलीद्वारा जारी विज्ञप्तिमा बाल विकास सहजकर्ता, गाउँपालिका अनुदान शिक्षक, विद्यालय लेखापाल तथा कार्यालय सहयोगीलगायत कर्मचारीले लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।
पार्टीका अनुसार गाउँपालिका अनुदान शिक्षकहरूको तलब वृद्धि गराउने भन्दै ११३ जना शिक्षकबाट प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले कुल ६ लाख ७८ हजार रुपैयाँ संकलन गर्ने भनिएको थियो। केही शिक्षकबाहेक अन्यबाट रकम उठाइएको रास्वपाको दाबी छ ।
व्यवस्थापन खर्चका नाममा रकम संकलन गरिएको भनिए पनि त्यसको औचित्य, कानुनी आधार र खर्चको पारदर्शितामाथि प्रश्न उठाउँदै पार्टीले निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
रास्वपाले सम्बन्धित पक्षलाई एक साताभित्र संकलित रकम फिर्ता गर्न आग्रह गर्दै माग सम्बोधन नभए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ । साथै, रकम संकलनमा संलग्न पक्षको भूमिका र आर्थिक कारोबारको विवरण सार्वजनिक गर्न माग गरेको छ ।
पार्टीले बाल विकास सहजकर्ता, गाउँपालिका अनुदान शिक्षक तथा विद्यालय कर्मचारीको बाँकी पारिश्रमिक तत्काल भुक्तानी गर्न र न्यून तलबमा कार्यरत शिक्षकहरूको सेवा सुविधा न्यायोचित बनाउन गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।
गंगादेवमा शिक्षक–कर्मचारीको पारिश्रमिक भुक्तानी र रकम संकलनसम्बन्धी विवादले स्थानीय शिक्षा क्षेत्रको आर्थिक व्यवस्थापनमाथि प्रश्न उठाएको छ । यस विषयमा सम्बन्धित सबै पक्षको प्रतिक्रिया र निष्पक्ष छानबिन आवश्यक देखिएको छ ।
