© 2026
भैरहवा । वर्षौंदेखि धमिलो संसार देखिरहेका आँखामा फेरि उज्यालो फर्किएपछि मर्चवारका ज्येष्ठ नागरिकमा खुसी छाएको छ । आर्थिक अभाव र अस्पतालसम्म पुग्नुपर्ने बाध्यताका कारण मोतियाबिन्दुको उपचार गराउन नसकेका उनीहरूका लागि आफ्नै गाउँमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर नयाँ जीवनको आशा बनेको छ ।
रूपन्देहीको कोटहीमाई गाउँपालिका – ५ मझगावास्थित क्याम्पस परिसरमा सञ्चालित तीनदिने बृहत् स्वास्थ्य शिविरले आँखाको ज्योति गुमाउँदै गएका वृद्धवृद्धादेखि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका हजारौँ स्थानीयलाई राहत दिएको छ । शिविरमा आँखाको परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रियासँगै महिला स्वास्थ्य, नाक, कान, घाँटी र अन्य रोगको परीक्षण तथा उपचार गरिएको थियो ।
रोटरी डिस्ट्रिक्ट ३२९२, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, मातृका आई सेन्टर काठमाडौं र लुम्बिनी नेत्रालय भैरहवालगायत संस्थाको सहकार्यमा आयोजित शिविरमा दुई हजारभन्दा बढीको आँखा परीक्षण गरिएको आयोजकले जनाएका छन् । पहिलो दिन ७८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो भने दोस्रो दिन ८० जनाभन्दा बढीको शल्यक्रिया गर्ने लक्ष्य राखिएको थियो ।
निजी अस्पतालमा एउटा आँखाको मोतियाबिन्दुको शल्यक्रिया गर्दा १० हजार रूपैयाँभन्दा बढी खर्च लाग्ने भए पनि शिविरमा परीक्षण, शल्यक्रिया र औषधोपचार निःशुल्क गरिएको थियो । आवश्यकताअनुसार पढ्ने चस्मासमेत वितरण गरिएको मातृका आई सेन्टर काठमाडौंका व्यवस्थापक कल्याण ढकालले बताए । शिविर अवधिमा शल्यक्रिया हुन नसकेका बिरामीलाई तिहार र छठपछि लुम्बिनी नेत्रालय भैरहवामा लगेर निःशुल्क उपचार गरिने रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष गङ्गाधर भण्डारीले बताए ।
शिविर आँखाको उपचारमा मात्र सीमित रहेन । महिलामा देखिने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचानलाई पनि प्राथमिकता दिइयो । करिब ३५० महिलाको परीक्षण गर्दा १५ जनामा शङ्कास्पद समस्या देखिएकाले थप परीक्षणका लागि भक्तपुर क्यान्सर अस्पतालमा पठाउने व्यवस्था मिलाइएको भण्डारीले जानकारी दिए । सात महिलामा पाठेघरसँग सम्बन्धित समस्या देखिएको र आवश्यकताअनुसार निःशुल्क शल्यक्रियाको पहल गरिएको रोटरियन विनोद कोइरालाले बताए । नाक, कान र घाँटीसम्बन्धी समस्याका पाँच सयभन्दा बढी बिरामीले पनि परीक्षण तथा औषधोपचार सेवा पाएका छन् ।
शिविरमा ४० जना अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर र विद्यालय तथा कलेजका छात्रालाई चार सयभन्दा बढी पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड वितरण गरिएको थियो । स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई लक्षित गरी शिविर आयोजना गरिएको कोइरालाले बताए । क्यानडा र अमेरिकाका रोटरियनको टोलीसँग नेपाल आएकी क्यानडाकी रोटरियन लोरी प्रेसले स्थानीयको आत्मीयता र चिकित्सकको सेवाभावबाट आफू प्रभावित भएको बताइन् ।
कोटहीमाई–५ का वडाध्यक्ष सञ्जयकुमार सैनीले विशेषज्ञ उपचारका लागि भैरहवा र बुटवल धाउनुपर्ने स्थानीयको बाध्यता शिविरले केही हदसम्म अन्त्य गरेको बताए । वडा कार्यालयले समेत साढे तीन लाख रूपैयाँभन्दा बढी सहयोग गरेको उनले जानकारी दिए ।
“मोतियाबिन्दुका कारण संसार धमिलो देखिरहेका आर्थिक अवस्था कमजोर भएका नागरिकले आफ्नै गाउँमा निःशुल्क शल्यक्रिया गराउन पाउनु ठूलो उपलब्धि हो,” उनले भने ।
स्थानीय क्याम्पस, रोटरी तथा रोट्र्याक्ट क्लब, पोखराको फिस्टेल क्लब, चिकित्सक, स्वास्थ्यकर्मी र विभिन्न संघसंस्थाको सहयोगमा शिविर सम्पन्न भएको हो । तीन दिनको शिविरले तत्कालीन स्वास्थ्य समस्या समाधानमा राहत दिए पनि मर्चवारमा विशेषज्ञ स्वास्थ्य सेवाको स्थायी पहुँच विस्तार गर्नुपर्ने आवश्यकता भने अझै कायमै छ ।