© 2026
पाल्पा ।
झिलिमिली तथा उज्यालो पर्व तिहार नजिकिँदा कालो चिप्लो माटोबाट बत्ती बाल्न प्रयोग हुने दियो, पाला र अन्य सामग्री बनाउन व्यस्त हुनुपर्ने पाल्पाका कुमाल समुदायका कालीगढ यतिबेला फुर्सदिला छन् । परम्परागत रूपमा माटोका भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आएका कुमाल समुदायका लागि अहिले मुख्य कच्चा पदार्थकै अभाव भएपछि पुख्र्यौली पेसा संकटमा परेको छ ।
माटोबाट विभिन्न प्रकारका मानव उपयोगी भाँडाकुँडा बनाएर जीविका चलाउँदै आएका कुमाल समुदायले विशेषगरी कालो र चिप्लो माटो प्रयोग गरी दियो, पाला, हाँडी, हण्डा र अन्य सामग्री बनाउने गर्थे । यही माटोलाई जीवन धान्ने बलियो आधार बनाएको समुदायमा पछिल्लो समय कालीगढको संख्या घट्दै गएको छ । माटोको अभाव, बजारमा आधुनिक सामग्रीको प्रतिस्पर्धा र नयाँ पुस्ताको अरू पेसाप्रतिको आकर्षणले परम्परागत व्यवसाय नै विस्थापित हुने अवस्थामा पुगेको छ ।
पाल्पाका विभिन्न स्थानमा छरिएर रहेका कुमाल समुदायमध्ये बगनासकाली गाउँपालिकाको घोरबन्दा तथा रामपुर नगरपालिकाको गेझा र तिलकपुरका एक सयभन्दा बढी परिवार कुनै समय माटाका भाँडाकुँडा बनाउने पेसामा आबद्ध थिए । पछिल्ला वर्षमा भाँडा बनाउन प्रयोग हुने मुख्य कच्चा पदार्थ कालो चिप्लो माटोको अभाव बढ्दै गएपछि धेरै परिवारले यो पेसा छाडेका छन् । पेसाबाटै विस्थापित भएपछि सीप भएका कालीगढसमेत अहिले फुर्सदिला बनेका छन् ।
घोरबन्दाकी कालीगढ मंगली कुमालले ७० वर्ष उमेर पूरा गरिसकेकी छन् । उनले जीवनको अधिकांश समय माटाका भाँडाकुँडा बनाएरै बिताइन् । आफूले बनाएका सामग्री डोकोमा बोकेर गाउँगाउँ पुग्ने र अन्नसँग साटेर ल्याउने चलन थियो । त्यही पेसाबाट सात जनाको परिवार पालिएको उनले सुनाइन् ।
“पहिले हामीले माटो खन्ने खेतबारीमा अहिले घर बनेका छन् । माटो पाइने ठाउँ नै मासिएपछि भाँडा बनाउने काम गर्न समस्या भएको छ । अहिले गाउँका सबैजसोले यो पेसा छाडिसके,” उनले भनिन् ।
पहिले घरमै बनाएका भाँडाकुँडा बोकेर गाउँगाउँ डुलाउनुपर्ने अवस्था रहे पनि अहिले बजारमा पसलमार्फत बिक्री गर्ने चलन बढेको छ । तर, माटो नै नपाएपछि बजारको सम्भावना भएर पनि उत्पादन गर्न नसकिएको पुराना पुस्ताका सेमन कुमाल बताउँछन् । “पहिले डोकोमा बोकेर गाउँ डुलाउनुपथ्र्यो । अहिले पसलमा राखेर बिक्री गर्न सकिने अवस्था छ । बजारको समस्या छैन, तर माटो नै पाइँदैन । माटो नभएपछि कहाँबाट भाँडा बनाउनु ?” उनले भने ।
जिल्लाका विभिन्न स्थानमा कुमाल समुदायको बसोबास रहे पनि माटाका भाँडाकुँडा बनाउने परिवारको संख्या निरन्तर घटिरहेको छ । पहिले यसै पेसामा निर्भर रहेका पुराना पुस्ता बित्दै गएपछि नयाँ पुस्ताले यसलाई निरन्तरता दिन सकेन । उनीहरू वैकल्पिक रोजगारीका लागि कृषि, मजदुरी तथा वैदेशिक रोजगारीमा जान थाले । पेसा हस्तान्तरण हुन नसक्दा पुस्तौँदेखि चल्दै आएको सीपसमेत हराउने जोखिम बढेको छ ।
माटाका भाँडाकुँडा बनाउने काम सहज छैन । कालो माटोलाई पानीमा भिजाएर पिट्दै नरम बनाउनुपर्छ । त्यसपछि आवश्यक आकारअनुसार डाइमा राखेर घुमाउँदै भाँडाको स्वरूप दिइन्छ । तयार भएका सामग्रीलाई घाममा सुकाएर बलियो बनाउन आगोमा पोल्नुपर्छ । आगोमा पोल्ने क्रममा धेरै सामग्री फुट्ने वा नष्ट हुने जोखिम पनि हुन्छ । आगोबाट झिकेपछि गेरु माटोले पोतेर मात्रै बिक्रीका लागि तयार हुन्छन् । यसरी लामो समय र मेहनत खर्चिएर बनाइएका सामग्रीबाट अपेक्षाअनुसार आम्दानी नहुँदा नयाँ पुस्ता यो पेसातर्फ आकर्षित हुन नसकेको पुराना कालीगढको अनुभव छ ।
पहिले चाडपर्वका समयमा दियो, पाला र साना भुँड्काको माग निकै हुने गरेको थियो । घरेलु मदिरा उत्पादनमा प्रयोग हुने हण्डा पनि राम्रो मूल्यमा बिक्री हुन्थ्यो । तर, बजारमा गिल्टीका भाँडाकुँडा आउन थालेपछि माटाका सामग्रीको बिक्री प्रभावित भयो । त्यसमा पनि तिहारमा पाला बाल्ने चलनलाई झिलिमिली बिजुली बत्तीले विस्थापित गर्दै लगेपछि कालीगढको आम्दानी घटेको छ ।
स्थानीय बुधकुमारी कुमालका अनुसार पहिले तिहार आउनुअघि पाला बनाउन भ्याइनभ्याइ हुन्थ्यो । अहिले भने पहिलेको जस्तो माग छैन । “पहिले तिहारमा पाला बनाउन भ्याइनभ्याइ हुन्थ्यो । अहिले पाला बाल्ने ठाउँमा झिलिमिली बिजुली बत्ती प्रयोग हुन थालेका छन् । हामीले बनाएका पालाले पहिले जस्तो महत्व पाउन छाडेका छन्,” उनले भनिन् ।
कुटीर उद्योगका रूपमा रहेको माटाका भाँडाकुँडा बनाउने पेसाको प्रवद्र्धन गर्ने भन्दै विभिन्न गैरसरकारी संस्था पटकपटक बस्तीमा पुगे पनि त्यसबाट स्थानीय कालीगढले दीर्घकालीन लाभ लिन नसकेको उनीहरूको गुनासो छ । स्थानीयका अनुसार परम्परागत सीप र संस्कृतिको संरक्षण गर्ने नाममा संस्थाहरूले कार्यक्रम सञ्चालन गरे पनि कच्चा पदार्थको सहज उपलब्धता र व्यावसायिक निरन्तरताका लागि ठोस व्यवस्था हुन सकेन ।
सदरमुकाम तानसेनसँग सिमाना जोडिएको कुमाल बस्तीका बासिन्दा राजनीतिक दलका लागि चुनावका बेला मात्र सम्झिने मतदाता बनेको स्थानीयको गुनासो छ । निर्वाचनका समयमा विभिन्न आश्वासन दिएर मत माग्ने तर त्यसपछि बस्तीका समस्या समाधान गर्न नफर्कने प्रवृत्तिले समुदाय निराश बनेको छ । यही कारण नयाँ पुस्ताले पुख्र्यौली पेसाभन्दा वैदेशिक रोजगारीलाई प्राथमिकता दिन थालेको उनीहरू बताउँछन् ।
नयाँ पुस्ताका श्यामबहादुर कुमालका अनुसार दुई–चार कक्षासम्म पढेपछि रोजगारीको खोजीमा विदेश जानुपर्ने अवस्था धेरै युवाको बाध्यता बनेको छ । “हाम्रो परम्परागत पेसालाई संरक्षण र आधुनिक बनाउने ठोस प्रयास भएन । चुनावका बेला आश्वासन दिने तर पछि फर्केर नहेर्ने प्रवृत्ति छ । यही कारण नयाँ पुस्ताले यो पेसामा भविष्य देख्न सकेन,” उनले भने ।
रामपुर नगरपालिका–तिलकपुरका ३८ वर्षीय सोमबहादुर कुमालले पनि विगत तीन वर्षदेखि माटाका भाँडाकुँडा बनाउने काम छाडेका छन् । उनका अनुसार बजारको सम्भावना हुँदाहुँदै पनि कच्चा पदार्थको अभावले पेसा निरन्तरता दिन सकिएन । माटो पाइने स्थाननजिक नेपाली सेनाको क्षेत्र रहेकाले सुरक्षाका कारण माटो खन्न रोक लगाइएपछि समस्या थपिएको उनले बताए ।
“पहिले माटो पाइने ठाउँमा पुगेर खन्न सकिन्थ्यो । पछि नेपाली सेनाले आफ्नो क्षेत्रको सुरक्षाका कारण माटो खन्न रोक लगाएपछि समस्या भयो । रातिको समयमा समेत माटो खन्नुपर्ने अवस्था आयो । त्यसपछि यो काम छाड्नुप¥यो,” उनले भने ।
उनका अनुसार स्थानीय सरकारले परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले केही सहयोगसमेत गरेको थियो । कालीगढलाई भक्तपुरसम्म लगेर तालिम दिइएको थियो । तर, तालिम लिएर फर्किएपछि पनि मुख्य कच्चा पदार्थको व्यवस्था हुन नसक्दा व्यवसायलाई निरन्तरता दिन सकिएन । माटोको सहज व्यवस्था भए पुनः यही पेसामा फर्कन सकिने उनको भनाइ छ ।
कुनै समय तिलकपुरका ५० घरपरिवार यही पेसामा आबद्ध थिए । समय र परिस्थितिअनुसार कुमाल समुदायका बालबालिका विद्यालय जान थालेपछि नयाँ पुस्ताले शिक्षासँगै वैकल्पिक रोजगारीका अवसर खोज्न थाले । पुरानो पुस्ता माटाका भाँडाकुँडा बनाएर जीविकोपार्जन गरिरहेको भए पनि कच्चा पदार्थको अभाव र आम्दानीको अनिश्चितताले नयाँ पुस्ता यसबाट टाढिँदै गयो । परिणामस्वरूप पुस्तौँदेखि चल्दै आएको पेसा क्रमशः हराउँदै गएको छ ।
स्थानीयका अनुसार माटोको हण्डाको माग भने अहिले पनि उत्तिकै छ । विशेषगरी घरेलु मदिरा बनाउन माटोको हण्डा प्रयोग गर्दा गिल्टीका भाँडामा बनाएको भन्दा स्वाद राम्रो हुने विश्वास गरिन्छ । एउटा हण्डाको मूल्य करिब सात सय रुपियाँ पर्छ । त्यस्तै एउटा पाला १० रुपियाँ र साना भुँड्का २० देखि ४० रुपियाँसम्ममा बिक्री हुने गरेको छ ।
पूजाआजादेखि मृत्यु संस्कारसम्म भुँड्काको प्रयोग आवश्यक पर्ने भएकाले यसको माग पूर्ण रूपमा घटेको छैन । जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारमा प्रयोग हुने यस्ता सामग्रीको सांस्कृतिक महत्वसमेत छ । पहिले मकै भुट्न र दही जमाउन प्रयोग हुने हाँडीको प्रयोग भने पछिल्लो समय घट्दै गएको छ । स्थानीय व्यापारीका अनुसार केही सामग्रीको माग अझै रहे पनि उत्पादन बन्द हुँदै जाँदा बजारमा आपूर्ति हुन छाडेको छ ।
रामपुर नगरपालिका–गेझाका पुराना पत्रकार उपेन्द्र अधिकारीका अनुसार कुनै समय यहाँका कुमाल समुदायको मुख्य पेसा नै माटाका भाँडाकुँडा बनाउने थियो । तर, नयाँ पुस्ता अन्य रोजगारीतर्फ आकर्षित भएपछि अहिले एक–दुई घरपरिवारले मात्र यो पेसालाई निरन्तरता दिएका छन् ।
उनका अनुसार स्थानीय सरकारले कुमाल समुदायका लागि माटोको सहज व्यवस्था गर्न सके परम्परागत पेसालाई पुनर्जीवन दिन सकिन्छ ।