© 2026
बुटवल ।
शुभ दीपावली, तिहार, नेपाल संवत् तथा छठ पर्व २०८३ को अवसरमा रुपन्देही उद्योग संघले शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघको आयोजनामा सम्पन्न कार्यक्रममा नेपालीहरूको महान् चाडपर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै आपसी सद्भाव, एकता र भाइचारालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।
रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले नेपाली मौलिक संस्कृति, परम्परा र पहिचानका रूपमा रहेका चाडपर्वले समाजमा आपसी सद्भाव, एकता, सहिष्णुता र भाइचाराको सम्बन्धलाई थप बलियो बनाउने बताए। उनले चाडपर्व केवल रमाइलो र उत्सव मनाउने अवसर मात्र नभई आपसी सम्बन्ध सुमधुर बनाउने, दुःख–सुख साटासाट गर्ने र सामाजिक एकता कायम गर्ने महत्वपूर्ण अवसरसमेत भएको उल्लेख गरे ।
स्वदेशी उत्पादनको प्रवद्र्धन, उद्योगमैत्री वातावरण निर्माण र औद्योगिक क्षेत्रका समस्याहरूको समाधानका लागि सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिँदै सम्पूर्ण उद्योगी, व्यवसायी, अतिथि तथा आम नेपालीमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष गणेश अधिकारी, बाबुराम बोहोरा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष नरिश्वर पौडेल ,नेपाल औषधि व्यवसाय संघ रूपन्देहीका अध्यक्ष पुरुषोत्तम भट्टराई, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवाल, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे, पश्चिम नेपाल बस व्यवसायी प्रा लिका अध्यक्ष दधिराम खरेल ,रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, मणिमुकुन्दसेन उद्यान संरक्षण समिति बुटवलका अध्यक्ष माधवप्रसाद नेपालले शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवद्र्धनमा सबैको साझा भूमिका आवश्यक रहेको बताए । उनीहरूले चाडपर्वले समाजमा आपसी सद्भाव, एकता र सहकार्यको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।
सोही कार्यक्रमका अवसरमा बुटवल उद्योग वाणिज्य संघ, नेपाल औषधि व्यवसाय संघ तथा मणिमुकुन्द सेन उद्यान संरक्षण समिति, बुटवलका नवनिर्वाचित पदाधिकारीहरूलाई टीका तथा माला लगाएर बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले स्वागत गर्दै चाडपर्वले सामाजिक एकता, सद्भाव र आत्मीयता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उनले उद्योगी व्यवसायीबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्षहरू, रुपन्देही उद्योग संघका सल्लाहकारहरू, पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू तथा वस्तुगत समितिका संयोजकहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन रूपन्देही उद्योग संघका महासचिव सुमन बस्यालले गरेका थिए ।