© 2026
बुटवल ।
भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो।
यस सम्बन्धमा आयोजित औपचारिक कार्यक्रममा भिजन लुम्बिनीका तर्फबाट अध्यक्ष जगत बहादुर पोखरेल र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् १२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा शेयर निष्कासन गरिने कम्पनीले जनाएको छ।
भिजन लुम्बिनी लिमिटेड नेपालको लगानी क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउँदै आएको सार्वजनिक लगानीमूलक कम्पनी हो। कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, सूचना प्रविधि तथा खनिज उत्खननलगायत उत्पादनशील र प्रशोधन क्षेत्रका लगानीका अवसर पहिचान, अध्ययन, विश्लेषण तथा प्रवर्द्धन गर्दै आएको छ।
स्वदेशी पुँजी तथा स्रोतसाधनको प्रभावकारी परिचालनमार्फत नयाँ लगानीका सम्भावना खोजी गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने लक्ष्य कम्पनीले लिएको छ। साथै, दीर्घकालीन लगानी रणनीति, व्यावसायिक व्यवस्थापन र आधुनिक प्रविधिलाई प्राथमिकता दिँदै आएको छ।
कम्पनीले विशेषगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा, कृषि र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ। आगामी दिनमा नयाँ तथा सम्भावनायुक्त परियोजनामा लगानी विस्तार गरी राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना र नेपालको आर्थिक विकासमा थप योगदान पुर्याउने कम्पनीको लक्ष्य रहेको छ।