© 2026
चन्द्रौटा ।
शिवराज नगरपाालिकाका नगर प्रमुख अजय थापाले सामुदायिक वनलाई रोजगारीसँग जोडन आवश्यक रहेको बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका-३ र ५ मा रहेको रहतावल सामुदायिक वनको चौथो साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नगर प्रमुख थापाले सामुदायिक वनलाई काठ, दाउरा र घाँसको स्रोतका रूपमा मात्र सीमित नराखी उद्यम तथा व्यवसायसँग जोड्नुपर्ने बताए । वनमा आधारित घरेलु उद्योग, जडीबुटी खेती, फलफूल उत्पादन र पर्यटन प्रवर्द्धनमार्फत स्थानीयलाई रोजगारी दिन सकिने उनको भनाइ छ । वन संरक्षणमा उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै वनको दिगो व्यवस्थापन र पारदर्शी कार्यसम्पादनमा ध्यान दिन नगर प्रमुख थापाले आग्रह गरे ।
यसैबीच शिवराज नगरपालिकाकी नगर उपप्रमुख शिवकुमारी थारुले सामुदायिक वनबाट प्राप्त आम्दानीलाई शिक्षा, स्वास्थ्य, विकास निर्माण र विपन्न समुदायको हितमा परिचालन गर्नुपर्नेमा जोड दिइन । वन संरक्षण र उपयोगबीच सन्तुलन कायम गर्दै आगामी पुस्ताका लागि वन तथा जैविक विविधता जोगाउनु सबैको साझा जिम्मेवारी भएको उनको जिकिर छ ।
यस्तै शिवराज नगरपालिका-५ का वडा अध्यक्ष नेत्रप्रसाद बेल्वासे, कोषाध्यक्ष बिमला घिमिरेलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । गत आर्थिक वर्ष डेढ करोड बढीको कारोबार गरेक वनको प्रतिबेदनमा उल्लेख छ । समूहका अध्यक्ष उत्तम चौधरीले सामुदायिक विकासका लागि समुदायसँग सहकार्य गरी शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा प्रभावकारी टेवा पुर्याउन लगानी गर्ने प्रतिबद्धतासमेत जनाए ।