© 2026
गुल्मी ।
पहिरो गएपछि गत तिन दिनदेखि अवरुद्ध बनेको गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडकखण्ड सुचारु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका‐४ स्थित खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदो सहित ठूलो चट्टान खसेपछि सोमबार अपरान्हदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो ।
सडकमा खसेको ठूलो चट्टानलाई तिन दिनसम्म एक्साभेटर र ब्रेकरको सहायताले फुटाएपछि उक्त सडक बुधबार बेलुकीदेखि दुइतर्फीरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् ।
सडक सुचारु भएसँगै त्यस क्षेत्रमा रोकिएका सम्पूर्ण सवारी साधनहरु बुधबार बेलुकीदेखि गन्तव्य तिर लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सडक डिभिजन कार्यालय पाल्पा र सत्यवती गाउँपालिकाको सहयोगमा अवरुद्ध सडक सुचारु गरिएको हो । सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेका अनुसार पहिरो गएको स्थानमा जेसिभी र ब्रेकर परिचालन गरी चट्टान फुटालेपछि सडक पूर्णरुपमा सुचारु भएको बताए ।
गुल्मीको रुद्रबेणी हुँदै बाग्लुङको बुर्तिवाङ जोड्ने उक्त सडक यस क्षेत्रको अति व्यस्त सडक अन्तर्गत पर्दछ ।