Butwal Today

सहर बजारमा तिहारको हतारो, किसानलाई धान स्याहार्नै चटारो

१८ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

सिद्धार्थनगर ।

सहर बजारमा दिपावलीको उल्लास छाउन थालेको छ । कार्तिक २५ गतेको भाईटिकाका लागि दिदी बहिनीहरु दाजुभाईलाई दिने उपहार र कोसेली किनमेलको तयारी सुरु गरिसकेका छन । सहर बजारमा तिहारको हतारो चलिरहँदा गाउँघरमा भने किसानलाई धान बाली भित्राउने चटारो छ ।

रुपन्देहीको रोहिणी गाउँपालिकाका किसानहरू भने खेतबारीमै व्यस्त छन् । वर्षभरि मेहनत गरेर उत्पादन गरेको धान भित्राउने समय भएकाले किसानहरू चाडपर्वभन्दा धान स्याहार्न र भित्राउनमै व्यस्त देखिएका छन । रोहिणीजस्तै रुपन्देहीका १६ वटै पालिकाका किसानलाई यतिबेला धान भित्राउने चटारो छ ।
धान काट्ने, सुकाउने र सुरक्षित रूपमा भण्डारण गर्ने काममा व्यस्त किसानहरूका लागि चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि पानी पर्ने जोखिमका बीच धान भित्राउने कामलाई प्राथमिकता दिनुपर्ने बताउँछन् ।

रोहिणी गाउँपालिका १ की चमेली थारुका अनुसार चाडपर्वभन्दा अहिले धान स्याहार्नु महत्वपूर्ण छ । उनी भन्छिन “चाडपर्व त आउँदै गर्छन्, तर हाम्रो रोजीरोटी भनेको यही धान हो । वर्षभरि गरेको मेहनतको फल आउने बेला यही हो ।

त्यस्तै, रोहिणी गाउँपालिकाकै किसान पवन कुर्मी पनि अहिले धान भित्राउन व्यस्त छन् । उनका अनुसार किसानका लागि धान केवल खेती मात्र नभई परिवारको वर्षभरीको खाद्यान्न र आम्दानीको मुख्य आधार हो । समयमै धान भित्राउन सके मात्र वर्षभरि गरेको मेहनतको प्रतिफल प्राप्त हुने भएकाले अहिले खेतीपातीलाई नै प्राथमिकता दिनुपर्ने अवस्था छ ।

किसानहरूका अनुसार धान भित्राउने समयमा मौसमको अनिश्चितता र कामदारको अभावले थप चुनौती सिर्जना गर्ने गरेको छ । समयमै धान काट्न र सुरक्षित रूपमा भित्राउन सके मात्र वर्षभरिको मेहनत खेर जानबाट जोगाउन सकिन्छ ।

उता, कृषि ज्ञान केन्द्र रुपन्देहीका अनुसार यस वर्ष धान उत्पादनमा सामान्य वृद्धि हुने अनुमान गरिएको छ । गत वर्ष ४.८३ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ४.८८ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । धान रोपाइँ हुने कुल क्षेत्रफल ८२ हजार ६२२ हेक्टर रहेकोमा करिब ७५ हजार ८४१ हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मानदेवप्रसाद चौधरीका अनुसार युवा जनशक्ति वैदेशिक रोजगारीमा जाने क्रम बढे पनि किसानहरूले जग्गा बाँझो नराखी लिजमा समेत लिएर खेती गरिरहेका छन् । यसले धान उत्पादनलाई निरन्तरता दिन सहयोग पुगेको छ । किसानलाई प्राविधिक सहयोग र अनुदान कृषि ज्ञान केन्द्रले किसानहरूको उत्पादन वृद्धि तथा खेती प्रणालीलाई व्यवस्थित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  केन्द्रमार्फत कृषकका लागि अनुदान कार्यक्रम, सिँचाइ सुविधा, बाली तथा वस्तु विशेष प्रवद्र्धन कार्यक्रम र कृषि यान्त्रिकीकरण सम्बन्धी कार्यक्रम सञ्चालन हुने गरेका छन् ।

सूचना अधिकारी चौधरीका अनुसार कृषक समूह, कृषि फार्म, सहकारी तथा उपभोक्ता समितिमार्फत आवेदनका आधारमा कार्यक्रम उपलब्ध गराइन्छ । अनुदान कार्यक्रम सञ्चालनपछि स्थलगत अनुगमन गरी प्रतिवेदनका आधारमा लाभग्राहीको बैंक खातामा रकम पठाउने व्यवस्था रहेको छ ।

कृषि ज्ञान केन्द्रले किसानहरूको खेतबारीमा देखिने रोग तथा समस्याको समाधानका लागि पनि प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । किसानले बालीमा रोग लागेको वा अन्य समस्या देखिएको जानकारी गराएमा प्राविधिकहरू स्थलगत रूपमा पुगेर आवश्यक सल्लाह तथा सुझाव दिने गरेका छन् । यद्यपि सीमित बजेटका कारण सबै किसानसम्म आवश्यक सेवा र कार्यक्रम विस्तार गर्न चुनौती रहेको केन्द्रले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?