© 2026
दोहा, कतार ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी डिसेम्बर ११ र १२ मा कतारको राजधानी दोहामा हुने नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी तीव्र पारिएको छ। सम्मेलनलाई सफल बनाउन विभिन्न तहका पदाधिकारी, व्यवसायी तथा प्रतिष्ठित संस्थाहरू साझेदार र प्रायोजकका रूपमा जोडिने क्रम बढेको छ।
‘सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान’ भन्ने नारासहित आयोजना हुन लागेको सम्मेलनमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या, श्रम अधिकार, सुरक्षित वैदेशिक रोजगारी र सामाजिक सुरक्षाका विषयमा विशेष छलफल हुने आयोजकले जनाएको छ।
सम्मेलनमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोविन शेरचन इभेन्ट पार्टनरका रूपमा जोडिएका छन्। उपाध्यक्ष बुद्धिसागर सुवेदी को–इभेन्ट पार्टनर तथा अर्का उपाध्यक्ष खगेन्द्र न्यौपाने प्लाटिनम पार्टनरका रूपमा सहभागी भएका छन्।
त्यस्तै, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव मोहम्मद मुक्तदा मुसलमान र मध्यपूर्व क्षेत्रीय संयोजक एवं जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष रमेश श्रेष्ठ प्लाटिनम स्पोन्सरका रूपमा जोडिएका छन्।
डायमण्ड पार्टनरका रूपमा काठमाडौँ मेडिकल कलेज (केएमसी) तथा त्यसका प्रमुख डा। सुनिल कुमार शर्मा, एनआरएनए मध्यपूर्वका उपक्षेत्रीय संयोजक पूर्ण पोखरिया र विकास शाही तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सह–सदस्य तुलसीराम पाण्डेले सहकार्य गरेका छन्।
अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा उपक्षेत्रीय तहका पदाधिकारीदेखि स्वास्थ्य क्षेत्रका प्रतिष्ठित संस्था र व्यवसायिक व्यक्तित्वसम्मको सहभागिताले सम्मेलनप्रति संस्थागत समर्थन बढ्दै गएको आयोजकको भनाइ छ। सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपाली श्रमिकका साझा समस्या र सरोकार सम्बोधन गर्ने क्षेत्रीय मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। श्रमिकको अधिकार, सुरक्षित आप्रवासन, सामाजिक सुरक्षा तथा भविष्यका सम्भावनाबारे सामूहिक छलफल गरी साझा धारणा र कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
आयोजक समितिले सम्मेलनलाई व्यवस्थित, मर्यादित र उपलब्धिमूलक बनाउन तयारी अघि बढाइएको जनाउँदै सहकार्य गर्ने सबै साझेदार, प्रायोजक तथा सहयोगीप्रति आभार व्यक्त गरेको छ। सम्मेलनमा मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली समुदायका प्रतिनिधि तथा अभियन्ताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।