© 2026
अर्घाखाँची ।
खेलकुदको विकास, युवामा खेलप्रतिको आकर्षण बढाउन तथा गाउँमै लुकेर रहेका प्रतिभावान् खेलाडीको पहिचान गर्ने उद्देश्यले अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा अध्यक्ष कप रनिङशिल भलिबल प्रतियोगिता सुरु भएको छ ।
छत्रदेव गाउँपालिकाको खेलमैदानमा मंगलबार आयोजित विशेष समारोहबीच जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले ब्यानर वाचन गरेर प्रतियोगिताको उद्घाटन गरेका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि कोइरालाले खेलकुद मनोरञ्जनको माध्यम मात्र नभई स्वस्थ जीवन, अनुशासन, आपसी सद्भाव र भाइचाराको विकास गर्ने महत्वपूर्ण आधार भएको बताए । उनले स्थानीय तहमा आयोजना हुने यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रमा लुकेका खेल प्रतिभालाई उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । खेलाडीहरूलाई हारजितभन्दा पनि खेल भावना, अनुशासन र आपसी सम्मानलाई प्राथमिकता दिएर प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरे ।
उद्घाटन समारोहमा विभिन्न स्थानीय तहका प्रमुख, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि तथा खेलकुद क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताएका छन् ।
गाउँपालिकाले दिएको जानकारीअनुसार प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न वडाका टोलीहरू सहभागी भई अध्यक्ष कपको उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जानकारी दिएका छन् ।
स्थानीय स्तरमा खेलकुदको वातावरण निर्माण गर्न, युवाहरूलाई सकारात्मक र सिर्जनात्मक गतिविधिमा जोड्न तथा नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताए ।
