© 2026
रोल्पा ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि रोल्पामा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । जिल्लाका विभिन्न खेल विधामा प्रतिभावान खेलाडी छनोट गरी राष्ट्रियस्तरमा प्रतिस्पर्धा गराउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो ।
जिल्ला खेलकुद विकास समिति रोल्पाको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाका दशवटै स्थानीय तहबाट खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगितामा विभिन्न ११ वटा खेल विधामा प्रतिस्पर्धा भइरहेको छ । छनोट प्रतियोगितामा कुल ३१२ जना खेलाडी सहभागी हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
जिल्ला खेलकुद विकास समिति रोल्पाका अध्यक्ष भरत कुमार रोकाका अनुसार फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, बक्सिङ, टेबल टेनिस, ब्याडमिन्टन, उसु र एथलेटिक्स खेलका लागि जिल्लास्तरीय छनोट प्रक्रिया अघि बढाइएको छ । केही खेलको छनोट सम्पन्न भइसकेको छ भने अन्य खेलको प्रतिस्पर्धा जारी रहेको उनले जानकारी दिएका छन् ।
उनका अनुसार भलिबलतर्फ पुरुष र महिला दुवै समूहबाट १२–१२ जना खेलाडी छनोट भइसकेका छन् । कराँते र उसु खेलका खेलाडी छनोट गर्ने कार्य पनि सम्पन्न भएको छ । फुटबल, क्रिकेट, कबड्डी, तेक्वान्दो, बक्सिङ, टेबल टेनिस, ब्याडमिन्टन र एथलेटिक्सतर्फ छनोट प्रक्रिया सञ्चालन भइरहेको अध्यक्ष रोकाले बताएका छन् ।
प्रतियोगिताका खेलहरू रोल्पाको लिबाङस्थित टुँडिखेल र माडीचौरमा सञ्चालन भइरहेका छन् । खेल विधाअनुसार फरक–फरक स्थानमा प्रतिस्पर्धा आयोजना गरिएको आयोजकले जनाएको छ ।
जिल्लास्तरीय छनोट प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले खेलकुद क्षेत्रको विकासका लागि स्थानीयस्तरबाटै खेलाडीको क्षमता पहिचान र प्रवर्द्धन गर्न आवश्यक रहेको बताएकी छन् । उनले खेलकुदले युवामा अनुशासन, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उल्लेख गर्दै राष्ट्रियस्तरमा जिल्लाको पहिचान स्थापित गर्न खेलाडीको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।
“स्थानीय तहमा रहेका खेल प्रतिभालाई पहिचान गरी उचित अवसर र प्रोत्साहन प्रदान गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिन्छ । खेलकुदको विकासका लागि सबै स्थानीय तह, सम्बन्धित निकाय र सरोकारवाला पक्षबीच सहकार्य आवश्यक छ,” प्रमुख आचार्यले भनेकी छन् ।
उनले जिल्लामा खेलकुदका पूर्वाधार विकास, खेलाडीको नियमित प्रशिक्षण तथा प्रतियोगिताको निरन्तरतामा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिएकी छन् । जिल्लास्तरीय छनोट प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्न सहयोग पुग्ने उनको भनाइ रहेको छ ।
जिल्ला खेलकुद विकास समिति रोल्पाका अध्यक्ष भरत कुमार रोकाले जिल्लामा खेलकुदको विकासलाई तीव्रता दिन छनोट प्रतियोगिता आयोजना गरिएको बताएका छन् । दशवटै स्थानीय तहबाट खेलाडीको सहभागिता हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले स्थानीयस्तरमा रहेका प्रतिभालाई राष्ट्रियस्तरमा पुर्याउने लक्ष्यसहित प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिएका छन् ।
उनले जिल्लाबाट उत्कृष्ट खेलाडी छनोट गरी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रोल्पाको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने प्रयास भइरहेको बताएका छन् । खेलाडीको क्षमता, प्रदर्शन र प्रतिस्पर्धाका आधारमा छनोट प्रक्रिया अघि बढाइने उनले उल्लेख गरेका छन् ।
आगामी मङ्सिर १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लास्तरीय छनोटलाई महत्वपूर्ण चरणका रूपमा लिइएको छ । छनोट भएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा रोल्पाको प्रतिनिधित्व गर्नेछन् ।
उद्घाटन कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा, जिल्ला समन्वय समितिका समन्वय अधिकारी लक्ष्मण लम्साल, रोल्पा नगरपालिका–२ का वडाध्यक्ष प्रकाश डाँगी तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाकी अध्यक्ष खुबिना सुनारी मगरको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार तथा खेलकुद क्षेत्रका सरोकारवालाहरू सहभागी भएका थिए ।
रोल्पामा खेलकुद गतिविधि विस्तार हुँदै गएको अवस्थामा जिल्लास्तरीय छनोट प्रतियोगिताले खेलाडी उत्पादन, प्रतिभा पहिचान र राष्ट्रियस्तरमा जिल्लाको प्रतिनिधित्व अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।