Butwal Today

कफीका उन्नत जात खोज्दै वैज्ञानिक

१७ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

गुल्मी ।
नेपाली कफीको उत्पादन र व्यावसायिक विस्तारका लागि महत्वपूर्ण मानिएको जातीय अनुसन्धान गुल्मीमा तीव्र पारिएको छ । नेपालमा हालसम्म कुनै पनि कफीको जात औपचारिक रूपमा सिफारिस नभएको अवस्थामा गुल्मीमा गरिएको अनुसन्धानबाट तीन जात सिफारिसको अन्तिम चरणमा पुगेका छन् ।

कफी खेतीका लागि अग्रणी जिल्ला गुल्मीको रुरुक्षेत्र गाउँपालिका–भण्डारीडाँडास्थित कफी अनुसन्धान कार्यक्रममा ३८ जातका कफीको जातीय परीक्षण सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२÷८३ मा सम्पन्न परीक्षणबाट ‘गुल्मी लोकल’, ‘सेलेक्सन–१०’ र ‘एलोक्याटुरा’ जातका कफी सिफारिसका लागि छनोट भएका हुन् ।

कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमका अनुसार ती तीन जातलाई औपचारिक रूपमा सिफारिस गर्ने प्रक्रिया अघि बढाइएको छ । सिफारिसका लागि बीउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रमा प्रस्ताव पेस गरी प्राविधिक उपसमिति तथा जात उन्मोचन, दर्ता र अनुमोदन उपसमितिमा प्रस्तुत गर्ने तयारी गरिएको छ ।

नेपालमा कफी खेतीको व्यावसायिक विस्तार हुँदै गए पनि किसानले खेतीका लागि प्रयोग गर्ने जातको आधिकारिक सिफारिस नहुँदा उत्पादन र गुणस्तरमा एकरूपता ल्याउन चुनौती रहँदै आएको छ । अनुसन्धानबाट उपयुक्त जात पहिचान गरी सिफारिस गर्न सके किसानले क्षेत्रअनुसार उपयुक्त बिरुवा छनोट गर्न पाउने र कफी उत्पादनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

गौतमका अनुसार रुरुक्षेत्र गाउँपालिकामा रहेको अनुसन्धान कार्यक्रममा प्राङ्गारिक प्रविधि अपनाएर ३८ जातका कफीको परीक्षण गरिएको हो । अनुसन्धानलाई थप विस्तार गर्ने उद्देश्यले आगामी वर्षका लागि भारतबाट चार नयाँ जातका कफीका बिरुवासमेत ल्याएर बेर्ना उत्पादन सुरु गरिएको छ ।

अनुसन्धान कार्यक्रमले करिब एक सय रोपनी क्षेत्रफलमा काम गर्दै आएको छ । त्यसमध्ये ६० रोपनीमा कफीका विभिन्न जातको परीक्षण, अन्य अनुसन्धान तथा बीउ–बेर्ना उत्पादन भइरहेको छ । कफीको उत्पादन क्षमता, गुणस्तर, रोगकीरा प्रतिरोध क्षमता र खेतीका लागि उपयुक्त प्रविधिबारे अध्ययन भइरहेको कार्यालयले जनाएको छ ।

कफीको जातीय अनुसन्धानसँगै बिरुवा उत्पादनका विभिन्न चरणमा समेत अध्ययन भइरहेको छ । मातृबोट छनोट, हाँगा तथा बीउको छनोट, माटोको उपयुक्तता, बिरुवा उत्पादन विधि र उत्पादित बिरुवाको गुणस्तर कायम गर्ने विषयमा अनुसन्धान भइरहेको गौतमले बताए । कफीमा लाग्ने रोगकीरा नियन्त्रण र मलखाद व्यवस्थापनका उपयुक्त प्रविधि विकास गर्ने कामलाई पनि प्राथमिकता दिइएको छ ।

अनुसन्धानबाट कफीमा लाग्ने सिन्दुरे रोग, सेतो गवारो कीरा नियन्त्रण तथा मलखाद व्यवस्थापनसम्बन्धी प्रविधि विकास गरिएको छ । कफी खेतीमा छहारी व्यवस्थापन, रोप्ने विधि, मलखादको मात्रा र रोगकीरा व्यवस्थापनका विषयमा परीक्षण भइरहेको छ । उत्पादित कफीको गुणस्तर सुधारका लागि समेत अध्ययन जारी रहेको कार्यालयले जनाएको छ ।

अनुसन्धानसँगै उन्नत जातका बीउ तथा बेर्नाको उत्पादन र वितरण पनि कार्यक्रमको अर्को महत्वपूर्ण काम बनेको छ । कार्यालयले वार्षिक १२ हजारभन्दा बढी उन्नत जातका कफीका बेर्ना उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ । यस वर्ष १५ हजारभन्दा बढी बेर्ना उत्पादन भएको गौतमले जानकारी दिए । त्यस्तै, करिब एक सय पाँच किलोग्राम उन्नत जातका कफीका बीउ बिक्री गरिएको छ ।

कार्यालयले जात खुलेको कफीको बेर्ना प्रतिगोटा ३५ रूपैयाँ र बीउ प्रतिकिलोग्राम दुई हजार पाँच सय रूपैयाँमा बिक्री गर्दै आएको छ । अनुसन्धानबाट उत्पादित बीउ तथा बेर्नाप्रति किसान र कृषि समूहको आकर्षण बढ्दै गएको कार्यालयको भनाइ छ ।

कफी खेती विस्तार भइरहेका जिल्लामा उन्नत जातका बीउ तथा बेर्नाको माग बढे पनि मागअनुसार आपूर्ति गर्न नसकिएको कार्यालयले जनाएको छ । सीमित बजेटका कारण गत आर्थिक वर्षमा ५१ किलोग्राम कफीको बीउ र १० हजार बेर्ना उत्पादन गर्ने लक्ष्य राखिएको थियो । तर यस वर्ष बीउतर्फ पाँच सय किलोग्राम र बेर्नातर्फ १८ हजारभन्दा बढीको माग आएको छ ।

मागको तुलनामा उत्पादन क्षमता कम हुँदा किसानलाई आवश्यक परिमाणमा बीउ तथा बेर्ना उपलब्ध गराउन नसकिएको गौतमले बताए । उनका अनुसार अनुसन्धान कार्यक्रमको सीमित स्रोतसाधन र दक्ष जनशक्तिको अभावले उत्पादन तथा अनुसन्धान दुवै काम प्रभावित भइरहेका छन् ।

गुल्मीमा उत्पादित कफीका बिरुवाको माग जिल्लाबाहिर पनि बढ्दै गएको छ । गुल्मीबाहेक अर्घाखाँची, कास्की, स्याङ्जा, लमजुङ, धादिङलगायत ४२ भन्दा बढी जिल्लाबाट बीउ तथा बेर्नाको माग आउने गरेको छ । कफी खेती विस्तार गर्न चाहने किसान, समूह तथा सहकारीबाट माग बढे पनि आवश्यक परिमाणमा उत्पादन गर्न नसकिएको कार्यालयको भनाइ छ ।

कफीको व्यावसायिक विस्तारका लागि व्यक्तिगत किसानको प्रयाससँगै समूह तथा सहकारीमार्फत बीउ–बेर्ना उत्पादन गर्नुपर्ने गौतमको सुझाव छ । स्थानीय स्तरमा उत्पादन क्षमता विस्तार गर्न सके अनुसन्धान कार्यक्रममाथिको निर्भरता घट्ने र किसानले आवश्यकताअनुसार बिरुवा पाउन सक्ने उनको भनाइ छ ।

गुल्मीमा कफी खेतीको विस्तार र प्रवद्र्धनका लागि कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कफी विकास केन्द्र आपचौर, कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडा तथा स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । जिल्लामा हाल तीन सय हेक्टरभन्दा बढी क्षेत्रफलमा कफी खेती भइरहेको छ ।

नेपालमा कफीको व्यावसायिक सम्भावना बढ्दै जाँदा उत्पादन मात्र नभई गुणस्तरीय बीउ, उपयुक्त जात, रोग नियन्त्रण र खेती प्रविधिको विकास पनि उत्तिकै महत्वपूर्ण बनेको छ । गुल्मीमा भइरहेको जातीय अनुसन्धानले औपचारिक रूपमा कफीका जात सिफारिस गर्ने आधार तयार पार्नुका साथै देशभरका कफी उत्पादक किसानलाई लाभ पु¥याउन सक्ने अपेक्षा गरिएको छ । तर त्यसका लागि अनुसन्धानको निरन्तरता, दक्ष जनशक्ति, पर्याप्त बजेट र बीउ–बेर्ना उत्पादन क्षमता विस्तार गर्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?