© 2026
बुटवल । लुम्बिनी सिटी कलेजमा पूर्वविद्यार्थीबीच आपसी सम्बन्ध विस्तार तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजित पूर्वविद्यार्थी भेटघाट समारोह–२०८३ सम्पन्न भएको छ ।
कलेजको सभाहलमा आयोजित कार्यक्रममा विज्ञान तथा प्रविधिमा स्नातक, व्यवसाय सूचना व्यवस्थापन र कम्प्युटर अनुप्रयोगमा स्नातक तहका पूर्वविद्यार्थीहरूको सहभागिता थियो । कार्यक्रममा उनीहरूले विद्यार्थी जीवनका अनुभव, शैक्षिक उपलब्धि तथा व्यावसायिक यात्राबारे विचार आदानप्रदान गरेका थिए ।
कार्यक्रममा कलेजका अध्यक्ष तथा प्रमुख प्राध्यापक डा. गणेशप्रसाद पाठकले पूर्वविद्यार्थी संस्थाका महत्त्वपूर्ण सम्पत्ति र पहिचानका दूत भएको बताए । विद्यार्थी कलेजबाट बाहिरिए पनि संस्थासँगको सम्बन्ध समाप्त नहुने उल्लेख गर्दै उनले ज्ञान, अनुभव र आत्मीयतामा आधारित सम्बन्ध नै संस्थाको वास्तविक शक्ति भएको बताए । उनले आगामी दिनमा पूर्वविद्यार्थी र कलेजबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै शैक्षिक, सामाजिक तथा व्यावसायिक सम्बन्ध विस्तार गरिने बताए ।
कलेजका सहायक प्रमुख नारायणप्रसाद भुसालले पूर्वविद्यार्थी भेटघाटले विगतका सम्झनालाई वर्तमानसँग जोड्दै भविष्यमा सहकार्यका अवसर सिर्जना गर्ने बताए । पूर्वविद्यार्थीको ज्ञान, सीप र अनुभवलाई हाल अध्ययनरत विद्यार्थीको सिकाइ तथा व्यावसायिक विकासमा उपयोग गर्न पूर्वविद्यार्थी सञ्जाल महत्वपूर्ण माध्यम बन्न सक्ने उनको भनाइ थियो ।
कार्यक्रम संयोजक माधव अर्यालले भेटघाटले विद्यार्थी जीवनका सम्झना ताजा गराउनुका साथै पूर्वविद्यार्थीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताए । पूर्वविद्यार्थी विष्णु खनालले विद्यार्थी जीवनमा हासिल गरेको ज्ञान र सीपलाई व्यावहारिक तथा व्यावसायिक जीवनमा उपयोग गर्न आपसी सम्बन्ध र अनुभव आदानप्रदान उपयोगी हुने बताए ।
समारोहका अवसरमा लुम्बिनी सिटी कलेज पूर्वविद्यार्थी समूहसमेत गठन गरिएको छ । समूहको संयोजकमा विवेक भण्डारी, सहसंयोजकमा सुमित खनाल, सचिवमा शाहिद आलम र कोषाध्यक्षमा सुजन राना चयन भएका छन् । त्यसैगरी सदस्यमा मनिषा अर्याल, मौषमि मगर, ऋषभ पोखरेल, गणेश ढकाल र पवन गुप्तालगायत चयन भएको कलेजले जनाएको छ ।
नवनिर्मित समूहले पूर्वविद्यार्थीबीच सम्पर्क र सहकार्य विस्तार गर्नुका साथै उनीहरूको अनुभव तथा सीपलाई कलेजका शैक्षिक गतिविधिसँग जोड्ने अपेक्षा गरिएको छ । कार्यक्रममा कलेजका प्राध्यापक, कार्यक्रम संयोजक तथा विभिन्न वर्षका पूर्वविद्यार्थीहरूको सहभागिता थियो ।