Butwal Today

चिकित्सकविहीन अस्पतालमा चिकित्सक राख्ने तयारी

१६ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

नवलपरासी । दुई वर्षदेखि चिकित्सकविहीन रहेको पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ स्थित आधारभूत अस्पतालमा गाउँपालिकाले आफ्नै स्रोतबाट चिकित्सक नियुक्त गर्ने तयारी गरेको छ । लुम्बिनी प्रदेश सरकारसँग पटकपटक चिकित्सक माग गर्दा पनि उपलब्ध नभएपछि गाउँपालिकाले दरबन्दीअनुसार चिकित्सक भर्ना गर्ने प्रक्रिया अघि बढाउन लागेको हो ।

अस्पताल सञ्चालनको अनुमति पाएदेखि नै प्रदेश सरकारसँग चिकित्सक माग गर्दै आए पनि उपलब्ध हुन नसकेपछि आन्तरिक स्रोतबाटै जनशक्ति व्यवस्थापन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष्णचन्द्र यादवले चिकित्सक पठाउने सरकारी निर्णयको प्रतीक्षा गरेर मात्र अस्पताल सञ्चालन गर्न नसकिने बताए । “सरकारसँग चिकित्सक माग गरेर अब थप कुर्नुपर्ने अवस्था छैन । प्रमुख प्रशासकीय अधिकृतसँग पनि छलफल भइसकेको छ । स्वास्थ्य शाखामार्फत भर्ना प्रक्रिया अघि बढाउने तयारी गरेका छौँ,” उनले भने ।

अस्पताल सञ्चालनका लागि प्राप्त ९० लाख रुपियाँ सङ्घीय अनुदानबाट चिकित्सकको पारिश्रमिक तथा व्यवस्थापन खर्च जुटाउने योजना रहेको उनले बताए । गाउँपालिकाले आवश्यक प्रक्रिया पूरा गरी चिकित्सक नियुक्त गर्ने तयारी गरेको छ ।
पन्ध्र शय्याको क्षमतामा सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको अस्पतालमा चिकित्सक नहुँदा स्वास्थ्य सहायक तथा अन्य स्वास्थ्यकर्मीको भरमा सेवा सञ्चालन भइरहेको छ । अस्पतालमा प्रसूति केन्द्र र प्रयोगशाला सेवा सञ्चालनमा रहे पनि चिकित्सकको अभावमा बिरामी भर्ना गरेर उपचार गर्ने तथा चिकित्सकीय परीक्षण र परामर्श दिनेजस्ता सेवा प्रभावित छन् ।

अस्पतालमा चिकित्सक नहुँदा सामान्य स्वास्थ्य सेवाबाहेक थप उपचार आवश्यक पर्ने बिरामी जिल्ला सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पताल तथा निजी स्वास्थ्य संस्थामा जान बाध्य छन् । अस्पतालको नाम र भवन भए पनि सेवा भने पहिलेको स्वास्थ्य चौकीकै स्तरमा सीमित रहेको स्थानीयको गुनासो छ ।

अस्पतालका निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक वृजेश यादवका अनुसार चिकित्सकबाट प्रदान गरिने सेवाबाहेकका स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ । “चिकित्सकको अभावमा बिरामीलाई आवश्यक परामर्श र उपचार दिन सकिएको छैन । थप उपचार आवश्यक पर्ने बिरामीलाई पृथ्वीचन्द्र अस्पतालमा पठाउनुपर्ने अवस्था छ,” उनले भने । अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक (एमडीजीपी) र दुई जना मेडिकल अधिकृतसहित तीन चिकित्सकको दरबन्दी रहेको छ । तर, दुई वर्षदेखि उक्त दरबन्दी रिक्त छ । निमित्त प्रमुख यादवका अनुसार
अस्पतालमा चिकित्सकबाहेक दरबन्दीभन्दा बढी ३० जना कर्मचारी कार्यरत छन् । आवश्यक जनशक्ति हुँदाहुँदै चिकित्सक नहुँदा अस्पतालले अपेक्षित सेवा दिन सकेको छैन ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशङ्कर गुप्ताले पन्ध्र शय्याको अस्पतालका लागि आवश्यक चिकित्सकीय जनशक्ति व्यवस्थापन हुन नसक्दा सेवा सञ्चालनमा कठिनाइ भइरहेको बताए । उनका अनुसार मेडिकल अधिकृतको व्यवस्था भएपछि नियमित उपचार, आकस्मिक सेवा, प्रसूति सेवा तथा अन्य स्वास्थ्यकर्मीको सुपरिवेक्षणलगायत कामलाई व्यवस्थित गर्न सहज हुनेछ ।

पाल्हीनन्दन गाउँपालिका–४ का वडाध्यक्ष रवीन्द्र सहानीले चिकित्सक नहुँदा वडावासी उपचारका लागि जिल्ला अस्पताल तथा निजी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको बताए । स्थानीय तहमा अस्पताल निर्माण भए पनि आवश्यक चिकित्सक र जनशक्ति नहुँदा नागरिकले त्यसको लाभ लिन नसकेको उनको भनाइ छ ।

सरकारी लगानीमा निर्माण गरिएको अस्पतालबाट स्थानीय नागरिकलाई सहज र सुलभ उपचार सेवा उपलब्ध गराउन भौतिक पूर्वाधारसँगै जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ । चिकित्सक नियुक्त गर्ने गाउँपालिकाको तयारीले सेवा सुधारको अपेक्षा बढाए पनि भर्ना प्रक्रिया कहिले पूरा हुन्छ र नियमित चिकित्सकीय सेवा कहिलेदेखि उपलब्ध हुन्छ भन्नेमा भने स्थानीयको चासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?