Butwal Today

बिदामा विद्यार्थीलाई सिर्जनात्मक अभ्यास

१६ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

रोल्पा ।
चाडपर्वको लामो बिदालाई विद्यार्थीको सिकाइ र प्रतिभा विकासको अवसर बनाउँदै रोल्पाको एक विद्यालयले अतिरिक्त शैक्षिक तथा सिर्जनात्मक गतिविधि सञ्चालन गरेको छ । दसैँ र तिहारको बिदामा विद्यार्थीलाई पढाइसँग जोडिराख्न राष्ट्रिय माध्यमिक विद्यालयले निःशुल्क अतिरिक्त कक्षासँगै खेलकुद, नृत्य र वाद्यवादन प्रशिक्षण सञ्चालन गरेको हो ।

विद्यालय बन्द भएको समयमा विद्यार्थीको पढाइमा निरन्तरता कायम राख्ने र उनीहरूमा रहेका प्रतिभा पहिचान तथा विकास गर्ने उद्देश्यले विद्यालयले यस्तो अभ्यास थालेको हो । करिब एक महिनाको चाडपर्व बिदालाई उपयोग गर्दै सञ्चालन गरिएका गतिविधिमा विद्यार्थीको सहभागिता उत्साहजनक रहेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक महेन्द्रराज रोकाका अनुसार लामो बिदाका कारण विद्यार्थी नियमित अध्ययनबाट टाढिने र उनीहरूको समय अपेक्षाकृत कम सिर्जनात्मक गतिविधिमा बित्ने अवस्थालाई ध्यानमा राखेर अतिरिक्त कार्यक्रम सञ्चालन गरिएको हो । विद्यालयले बिदालाई केवल मनोरञ्जन र विश्रामको समयका रूपमा मात्र नभई सिकाइ तथा सीप विकासको अवसरका रूपमा उपयोग गर्न खोजेको उनले बताए ।

विद्यालयले विशेषगरी कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी गणित र अङ्ग्रेजी विषयको निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरिरहेको छ । आगामी परीक्षाको तयारीमा सहयोग पु¥याउनुका साथै नियमित पढाइको अभ्यास कायम राख्न यस्तो व्यवस्था गरिएको प्रधानाध्यापक रोकाले बताए ।

पढाइसँगै विद्यार्थीको रुचि र क्षमताअनुसार नृत्य, खेलकुद तथा विभिन्न वाद्यवादनको प्रशिक्षणसमेत दिइएको छ । यसले पाठ्यपुस्तकमा सीमित सिकाइभन्दा बाहिर विद्यार्थीलाई आफ्नो रुचि र क्षमता पहिचान गर्ने अवसर दिएको विद्यालयको भनाइ छ ।

विद्यालयको अर्को अभ्यास भने स्थानीय संस्कृति र परम्परालाई विद्यार्थीको सिकाइ तथा विद्यालयको आन्तरिक स्रोत व्यवस्थापनसँग जोड्नु हो । विद्यालयले २०७९ सालदेखि विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र अभिभावकको सहभागितामा तिहारमा देउसी–भैलो कार्यक्रम सञ्चालन गर्दै आएको छ । कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी हुने देउसी–भैलोबाट सङ्कलित रकम शैक्षिक भ्रमण, खेलकुद, वनभोज तथा अन्य अतिरिक्त क्रियाकलापमा खर्च गर्ने गरिएको शिक्षक नवराज पुनले बताए ।

उनका अनुसार विद्यार्थी देउसी–भैलो खेल्दै अभिभावकका घरआँगनमा पुग्ने गरेका छन्। यसबाट विद्यार्थीले तिहारको सांस्कृतिक महत्त्व र मौलिक परम्पराबारे व्यवहारमै बुझ्ने अवसर पाउनुका साथै अभिभावक तथा समुदायसँगको सम्बन्ध पनि बलियो बनेको छ ।

“देउसी–भैलोलाई मनोरञ्जनमा मात्र सीमित नराखी विद्यार्थीको सिकाइ र विद्यालयका गतिविधिसँग जोड्ने प्रयास गरेका छौँ,” शिक्षक पुनले भने, “यसबाट सङ्कलित रकम विद्यार्थीको हितमा खर्च हुन्छ। शैक्षिक भ्रमण र अतिरिक्त गतिविधिका लागि अभिभावकसँग छुट्टै आर्थिक सहयोग माग्नुपर्ने अवस्था पनि कम भएको छ ।”

विद्यालयले देउसी–भैलोबाट सङ्कलित रकमको आम्दानी र खर्च विवरण सार्वजनिक गर्दै पारदर्शितालाई समेत प्राथमिकता दिएको छ । विद्यालयका अनुसार २०८१ सालको देउसी–भैलोबाट दुई लाख ९४ हजार रुपियाँ आम्दानी भएको थियो । विभिन्न शीर्षकमा एक लाख ४६ हजार ५६५ रुपियाँ खर्च भएपछि एक लाख ४७ हजार ४३५ रुपियाँ बचत भएको थियो ।

उक्त बचत रकममध्ये शैक्षिक भ्रमणमा ८० हजार १५ रुपियाँ, डेक खरिद तथा खाजामा ३० हजार ८५० रुपियाँ, नृत्य प्रशिक्षकको पारिश्रमिकमा १० हजार रुपियाँ, सामग्री मर्मत तथा पुरानो बाँकी भुक्तानीमा नौ हजार २०० रुपियाँ, यातायातमा सात हजार रुपियाँ र हस्तलेखनसम्बन्धी गतिविधिमा एक हजार ५०० रुपियाँ खर्च गरिएको विवरणमा उल्लेख छ ।

यसअघि २०८० सालको देउसी–भैलोबाट दुई लाख १० हजार ४७१ रुपियाँ बचत भएको थियो। दुई वर्षको बचत रकम जोड्दा विद्यालयसँग तीन लाख ५७ हजार ९०६ रुपियाँको आन्तरिक स्रोत बनेको छ । स्थानीय समुदायको सहभागिताबाट जुटेको रकम विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा परिचालन गर्ने अभ्यासले विद्यालयलाई आर्थिक रूपमा समेत सहयोग पुगेको छ । प्रधानाध्यापक रोकाका अनुसार रोल्पाको भौगोलिक अवस्था र आर्थिक सीमितताका कारण विद्यार्थीलाई विभिन्न शैक्षिक तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी गराउन चुनौती छ । यस्तो अवस्थामा स्थानीय परम्परा र समुदायको सहयोगलाई विद्यालयको शैक्षिक गतिविधिसँग जोड्दा स्रोत व्यवस्थापनमा सहजता भएको उनको भनाइ छ ।

विद्यालयको यो अभ्यासमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक, अभिभावक तथा स्थानीय सामाजिक व्यक्तित्वको सहकार्य रहँदै आएको छ । स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीबाट समेत सकारात्मक प्रतिक्रिया र सुझाव प्राप्त हुने गरेको विद्यालयले जनाएको छ ।

चाडपर्वको बिदालाई उपयोग गर्दै सञ्चालन गरिएको अतिरिक्त कक्षाले विद्यार्थीको शैक्षिक निरन्तरता कायम राख्न र सांस्कृतिक तथा सिर्जनात्मक प्रशिक्षणले उनीहरूको प्रतिभा विकास गर्न सहयोग पुग्ने अपेक्षा विद्यालयले गरेको छ । स्थानीय संस्कृति संरक्षण, सामुदायिक सहभागिता र विद्यार्थीको सर्वाङ्गीण विकासलाई एउटै अभियानमा जोड्ने विद्यालयको यो अभ्यास सीमित स्रोतसाधन भएका अन्य विद्यालयका लागि पनि उपयोगी हुन सक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?