© 2026
काठमान्डौँ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले मुलुक ठूलो सङ्कटतर्फ उन्मुख भइरहेको सङ्केत गरेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले सत्तारूढ तथा प्रतिपक्षी दलभित्र चर्कँदो आन्तरिक द्वन्द्व, न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख निकायमा देखिएको अव्यवस्था तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्राले देशको अवस्था थप जटिल बन्दै गएको बताएका हुन् ।
उनले देशमा बढ्दो भूराजनीतिक चलखेलसँगै प्राकृतिक प्रकोपको भार थपिँदै गएको, युवाहरू विदेश पलायन हुने क्रम नरोकिएको तथा सार्वजनिक सञ्चार क्षेत्र र नागरिक वृत्तमा निराशा बढ्दै गएको उल्लेख गरेका छन् ।
भट्टराईले अब मुलुकले थप अस्थिरता र उथलपुथल थेग्न नसक्ने भन्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट जिम्मेवार बन्न आग्रह गरेका छन् ।
‘अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दै सक्दैन । सबै आ–आफ्नो क्षेत्रबाट गम्भीर बनौँ । सक्छौँ, सकारात्मक योगदान गरौँ । सक्दैनौँ, नकारात्मक काम नगरौँ,’ उनले लेखेका छन् ।