© 2026
काठमान्डौँ ।
बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् ।
आइतबार बिहान करिब ५स्४० बजे कम्पनीभित्र फलाम पगाल्न प्रयोग गरिने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट हुँदा अचानक आगलागी भएको हो । प्रत्येक भट्टीको क्षमता २५ टन रहेको प्रहरीले जनाएको छ ।
आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन् ।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाका दुईवटा र कोहलपुर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान सवा ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि बिहान पौने ९ बजे भारतको लखनउ रिफर गरिएको छ । अन्य घाइतेहरूको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको अन्य क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ ।
यी हुन् घाइतेहरू :
१. जिल्ला बाँके, जानकी गाउँपालिका–५ बस्ने वर्ष २८ का शिवप्रसाद चमार (अवस्था मध्यम)
२. सोही ठाउँ बस्ने वर्ष २२ का रामदिन हरिजन (अवस्था मध्यम)
३. ऐ.ऐ.बस्ने वर्ष २४ का प्रेम धोबी (अवस्था सामान्य)
४. सोही ठाउँ बस्ने वर्ष २९ का दिलीपकुमार यादव (अवस्था सामान्य)
५. सोही ठाउँ बस्ने ३५ का लक्ष्मीराम यादव (अवस्था सामान्य)
६. भारत, जिल्ला बहराइच, कठौतिया बस्ने वर्ष २९ का राजकुमार निषाद (अवस्था सामान्य)
७. सोही ठाउँ बस्ने वर्ष २४ का नशिवकुमार निषाद (अवस्था सामान्य)
८. सोही ठाउँ बस्ने वर्ष २५ का विनोदकुमार निषाद, (अवस्था सामान्य)