Butwal Today

नेपाल स्क्राबल संघ गठनका लागि तदर्थ समिति

१४ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

बुटवल ।

नेपालमा स्क्राबल खेलको विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल स्क्राबल संघ गठन तथा दर्ता प्रक्रिया अघि बढाउन केशवप्रसाद पराजुलीको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ।

बुटवलस्थित तिलोत्तमामा शनिबार सम्पन्न राष्ट्रिय भेलाले नेपालमा स्क्राबल खेलको संस्थागत विकास र देशव्यापी विस्तारलाई व्यवस्थित बनाउने लक्ष्यसहित संघ दर्ता गर्ने निर्णय गर्दै तदर्थ समिति गठन गरेको हो।

गठित समितिको उपाध्यक्षमा ध्रुव थापा, महासचिवमा नवीन पन्त, कोषाध्यक्षमा पूर्णबहादुर राना, सचिवमा अमर कुँवर, सहकोषाध्यक्षमा विनोद पौडेल र प्रवक्तामा बुद्ध गौतम चयन भएका छन्।

त्यसैगरी, सदस्यहरूमा भोजराज सुवेदी, शारदा श्रेष्ठ, अर्पणा गुप्ता र चन्दा बास्तोला रहेका छन्।

नवगठित तदर्थ समितिले सर्वप्रथम नेपाल स्क्राबल संघ दर्ताका लागि आवश्यक प्रक्रिया अघि बढाउने र त्यसपछि संघको संस्थागत विकास, संगठन विस्तार, खेलाडी उत्पादन तथा राष्ट्रियस्तरका प्रतियोगिताहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्नेलगायतका कार्य अगाडि बढाउनेछ।

स्क्राबल अंग्रेजी शब्दभण्डार, हिज्जे, भाषिक दक्षता तथा तार्किक क्षमताको विकासमा सहयोग पुर्‍याउने बौद्धिक खेल हो। विशेषगरी विद्यालय तहका विद्यार्थीको भाषिक सीप, एकाग्रता र सिर्जनात्मक सोच विकासमा यस खेलले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

नेपाल स्क्राबल संघको गठन तथा दर्ता प्रक्रियाले देशभर स्क्राबल खेलको विकास र विस्तारलाई संस्थागत गर्दै विद्यालयदेखि राष्ट्रियस्तरसम्म खेलको पहुँच बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?