Butwal Today

नेपालगञ्जमा पौडीको महाकुम्भ, १५० खेलाडीको प्रतिस्पर्धा

१४ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

नेपालगञ्ज ।

नेपालगञ्जमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पौडी खेलाडीको जमघटसँगै दुई दिने पौडी प्रतियोगिता सुरु भएको छ । नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको ‘नबिल बैंक तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप’मा नेपालका विभिन्न प्रदेश र भारतका खेलाडीबीच पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।
प्रतियोगितामा नेपालका सबै प्रदेशका साथै भारतको नयाँ दिल्ली र लखनउबाट आएका गरी करिब १५० जना खेलाडी सहभागी छन् । विभिन्न उमेर समूहका खेलाडीले पौडीका छुट्टाछुट्टै विधामा आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् ।

शनिबार दिउँसो ३ बजेसम्म सम्पन्न १७ वटा इभेन्टको नतिजाअनुसार ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ११ स्वर्ण पदक जित्दै अग्रता बनाएको छ । भारतको नयाँ दिल्लीस्थित इलाइट स्वीमिङ एकेडेमीले चार स्वर्णसहित दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै, ललितपुरको रातो बंगला र काठमाडौंको मपिल क्यानेडियन स्कुलले एक–एक स्वर्ण पदक जितेका छन् ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा अन्डर–८ देखि अन्डर–१७ उमेर समूहका साथै १७ वर्षभन्दा माथिका खुला समूहका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । खेलाडीले फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेड्ले गरी पौडीका छ विधामा कुल ८० वटा इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

शनिबार केही इभेन्टका हिट चरण सम्पन्न भएका छन् भने बाँकी प्रतिस्पर्धाका फाइनल खेल आइतबार सञ्चालन हुने आयोजकले जनाएको छ । विभिन्न उमेर समूहका खेलाडीको सहभागिताले प्रतियोगितालाई प्रतिस्पर्धात्मक र उत्साहपूर्ण बनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शनिबार प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदलाई स्वस्थ समाज निर्माण, अनुशासन र प्रतिभा विकासको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने बताए । नगर प्रमुख विष्टले नेपालगञ्जमा खेलकुद गतिविधि विस्तार तथा खेलाडीको क्षमता अभिवृद्धिका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।

नेपाल स्वीमिङ एसोसिएसनसँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगिताले नेपालमा पौडी खेलको विकास र खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ । विशेषगरी बालबालिका तथा युवालाई पौडी खेलतर्फ आकर्षित गर्ने र उनीहरूमा रहेको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको टाइटल स्पोन्सर नबिल बैंक रहेको छ । निजी क्षेत्रको सहयोग र स्थानीय खेलप्रेमीको सक्रियतामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुनुले नेपालगञ्जमा खेलकुदको सम्भावना विस्तार हुँदै गएको देखाएको छ ।

नेपालगञ्ज स्वीमिङ क्लब लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब हो । पौडी खेलको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले नेपालगञ्जका उद्योगी, व्यवसायी, चिकित्सक, इन्जिनियर, कानुन व्यवसायी, चार्टर्ड एकाउन्टेन्ट, सञ्चारकर्मीलगायत नागरिक समाजका अगुवाको पहलमा क्लब गठन गरिएको हो ।

स्थानीय स्तरमा पौडी खेलको पूर्वाधार, प्रशिक्षण र प्रतिस्पर्धाका अवसर विस्तार गर्ने लक्ष्यसहित अघि बढेको क्लबले अन्तर्राष्ट्रिय च्याम्पियनसिपमार्फत नेपालगञ्जलाई पौडी खेलको गतिविधिसँग जोड्ने प्रयास गरेको छ ।

प्रतियोगिताले एकातिर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिएको छ भने अर्कोतिर नेपालगञ्जमा पौडी खेलको सम्भावना र महत्वबारे थप चासो सिर्जना गरेको छ । नियमित प्रतियोगिता, दक्ष प्रशिक्षक र आवश्यक पूर्वाधारको विकास गर्न सकिए पौडी खेलमा पनि नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?