Butwal Today

बौद्ध दर्शन र साहित्य सिर्जनामा जमेको जोडी

१४ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

बुटवल ।

निकै कम हुन्छन– एउटै घरका सदस्य, त्यो पनि श्रीमान श्रीमति कला र साहित्यको क्षेत्रमा अघि बढेको । त्यो पनि स्वास्थ्य जटीलताका बीच जीवनको उत्तरार्धकालमा । तर बुटवलका देवेन्द्रराज शाक्य र धर्मी शाक्य उपबाद वनेका छन् । अझ भनौं समाजका लागि प्रेरणाका श्रोत बनेका छन् । उमेर सम्झिँदा यो आराम गर्ने बेला हो तर दुवैजना अहिलेपनि अधिकांश समय अध्ययन र सिर्जनामा बिताउँछन् । बौद्ध दर्शन, साहित्य, संस्कृति र इतिहासको अध्ययन तथा लेखनमा यो जोडी पर्याय बनेको छ ।

पारिवारिक जिम्मेवारी, जीवनका उतारचढाव र स्वास्थ्य समस्याका बाबजुद अध्ययन तथा सिर्जनालाई निरन्तरता दिँदै आएको यो दम्पतीले पछिल्लोसमय बुटवलको साहित्यिक र बौद्ध वाङ्मय क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेको छ । पाल्पाको तानसेनमा विसं २००६ माघ १ गते जन्मिएका देवेन्द्रराज शाक्यले बाल्यकालमै पारिवारिक जिम्मेवारी सम्हाल्नु परेपनि अध्ययन र लेखनप्रतिको रुचिलाई निरन्तरता दिए । पिताको निधनपछि उच्च शिक्षा बीचमै छाडेर विसं २०२४ देखि बुटवललाई कर्मक्षेत्र बनाएका उनले विसं २०३४ देखि कथा र कविता लेख्न थाले । विसं २०२४ देखि दैनिकी लेख्न सुरु गरेका उनको पहिलो प्रकाशित लघुकथा विसं २०३५ मा बुटवलको महावीर पुस्तकालयको मुखपत्र ‘जुनकिरी’ मा प्रकाशित भएको थियो । उनको पहिलो पुस्तक ‘वैशाख पूर्णिमाः पाँच संयोगको पुनीत दिवस’ विसं २०६१ मा प्रकाशित भएको हो । त्यसपछि ‘यो बटौली हो बुटवल’, ‘विश्व शान्तिको सहर लुम्बिनीः एक चिनारी’, ‘महामानव बुद्ध’, ‘बुद्धकालीन केही प्रमुख विहारहरू’, ‘थेरवाद बुद्धधर्म ः संक्षिप्त परिचय’, ‘प्राचीन कोलीय र शाक्य गणराज्य अन्तर्गत बौद्ध सम्पदा’, ‘हाम्रो संस्कार र संस्कृति’, ‘बुटवलमा बुद्धधर्म’ र ‘वेदका भेद’ लगायतका कृति प्रकाशित भए । उनका कविता, जीवनीपरक लेखन र साहित्यिक समीक्षासम्बन्धी कृतिहरू पनि छन् ।

शाक्यले ‘यो बटौली हो बुटवल’ कृतिमार्फत बुटवलको ऐतिहासिक परिचय प्रस्तुत गरेका छन् । यसमा प्रागैतिहासिक रामापिथेकस, बुद्धवल्ली क्षेत्र, ऋषिमुनिहरूको तपोभूमि र कर्णेल उजिरसिंह थापाको युद्धस्थलका रूपमा परिचित क्षेत्रबारे चर्चा गरिएको छ । उनको अध्ययनको एउटा महत्त्वपूर्ण विषय बुटवलको नामकरण पनि हो । बुद्धवल्ली, बुढवल, बेढवली, बुटवली, बुटौली हुँदै बुटवल नाम प्रचलनमा आएको भन्ने मान्यतालाई उनले आफ्नो लेखनमा समेटेका छन् । यद्यपि बुटवलको नाम कसरी रह्यो भन्ने विषयमा विभिन्न ऐतिहासिक व्याख्या र जनश्रुति प्रचलित छन् ।

शाक्यले बटौली बजारको पुरानो व्यापारिक महत्वलाई पनि उजागर गरेका छन् । पहाडी जिल्लाबाट घ्यू, खाद्यान्न तथा अन्य उत्पादन ल्याएर बेच्ने र तराईबाट नुन, तेल, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री लैजाने व्यापारिक केन्द्रका रूपमा बटौली विकसित भएको थियो । पछि तिनाउ नदीको वारिपट्टि खस्यौलीमा बस्ती र पूर्वाधार विस्तार हुँदै जाँदा आधुनिक बुटवलको स्वरूप बनेको इतिहासबारे पनि उनले विभिन्न सन्दर्भमा चर्चा गरेका छन् । बुटवलको इतिहाससँगै शाक्यले बौद्ध सम्पदा र संस्कृतिको अध्ययनलाई पनि प्राथमिकता दिएका छन् । ‘विश्व शान्तिको सहर लुम्बिनी ः एक चिनारी’ लगायतका कृतिमा बौद्ध विहार, गुम्बा, बुद्धधर्मको इतिहास र लुम्बिनी क्षेत्रको धार्मिक–सांस्कृतिक पहिचान समेटिएको छ ।

देवेन्द्रराजले बुटवल बहुमुखी क्याम्पसमा ३८ वर्ष प्रशासनिक सेवामा काम गरी उपप्रशासक पदबाट अवकाश लिए । प्रशासनिक सेवासँगै बौद्ध दर्शन, बुद्धकालीन समाज र बुटवलको ऐतिहासिक पृष्ठभूमिको अध्ययनमा सक्रिय उनी स्थानीय इतिहासको जानकारका रूपमा पनि परिचित छन् । जितगढी किल्ला, कर्णेल उजिरसिंह थापा र राजा मणिमुकुन्द सेनसम्बन्धी ऐतिहासिक विषयमा जानकारी लिन आउने लेखक, पत्रकार तथा अनुसन्धानकर्तालाई आफूले जानेका कुरा र उपलब्ध सामग्री साझा गर्दै आएका छन् ।

उनकी जीवनसाथी धर्मी शाक्य पनि साहित्य सिर्जनामा सक्रिय छिन् । उनका १० वटा कृति प्रकाशित भएका छन् । धर्मी नारी साहित्य श्रृजना मंचकी सदस्य पनि हुन । साहित्यिक अध्ययन र सिर्जनामा समान रुचि राख्ने शाक्य दम्पतीले एकअर्कालाई लेखनमा प्रोत्साहित गर्दै आएका छन् । उनीहरूको साझा कृति ‘बुटवलमा बुद्धधर्म’ ले बुटवलको बौद्ध इतिहास, विहार तथा गुम्बा र बौद्ध परम्पराका विविध पक्षलाई समेटेको छ ।

देवेन्द्रको लेखनमा बौद्ध दर्शन, अहिंसा, मानवता र बुद्धकालीन समाज प्रमुख विषयका रूपमा देखिन्छन् भने स्थानीय इतिहास तथा सांस्कृतिक सम्पदाको अभिलेखीकरणमा पनि उनको रुचि छ । उता धर्मीको आफ्नै साहित्यिक पहिचान र प्रकाशित कृतिहरूले दम्पतीको सिर्जनात्मक यात्रालाई थप समृद्ध बनाएका छन् । उनीहरूका केही कृति प्रकाशनको तयारीमा समेत छन् । तर, देवेन्द्रराजको अध्ययन र लेखन यात्रामा स्वास्थ्य समस्या पनि चुनौती बनेको छ । विसं २०६७ मा हृदयाघात भएपछि उनको दैनिक जीवनमा परिवर्तन आयो । तर, पुस्तक अध्ययन र लेखनलाई उनले निरन्तरता दिइरहे । दुवैजना अधिकांश समय अध्ययन र सिर्जनामा बिताउँछन् । आफूले आर्जन गरेको ज्ञान समाजसँग बाँड्ने र सामाजिक तथा धार्मिक संस्थाका अक्षय कोषमा सहयोग गर्ने परोपकारी भावनाका देवेन्द्र समाजमा उत्तिकै परिचित छन् ।

बुटवलले आज व्यापार, पूर्वाधार र सहरी विस्तारका कारण नयाँ पहिचान बनाउँदै छ । तर यसको ऐतिहासिक जरा बटौली बजार, पुराना व्यापारिक मार्ग, सांस्कृतिक सम्पदा र सामाजिक जीवनमा जोडिएको छ । शाक्यको लेखनले यही विगतलाई नयाँ पुस्तासम्म पु¥याउने प्रयास गरेको छ । इतिहास संरक्षणका लागि पुराना दस्तावेज, मौखिक इतिहास र ऐतिहासिक स्थलको व्यवस्थित अभिलेखीकरण आवश्यक रहेको सन्दर्भमा उनको कामले स्थानीय इतिहासको महत्व सम्झाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?