© 2026
काठमान्डौँ ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १६ अर्ब २३ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब ५४ प्रतिशतले कम हो ।
उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म कुल ४२२ उद्योग दर्ता भएका छन् । ती उद्योगमार्फत १६ अर्ब २३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो । गत आर्थिक वर्ष २०८२/८३ को असोजसम्म ३५ अर्ब १३ करोड रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता स्वीकृत भएको थियो ।
विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अटोमेटिक रुटबाट ४१० र अप्रुभल रुटबाट १२ उद्योग दर्ता भएका छन् ।
असोज महिनामा मात्रै ५ अर्ब १० करोड रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता स्वीकृत भएको छ । यस अवधिमा ९४ उद्योग दर्ता भएका छन् । तीमध्ये ८८ उद्योग अटोमेटिक रुटबाट दर्ता भएका हुन् ।
असोजसम्म दर्ता भएका उद्योगमध्ये अधिकांश साना प्रकृतिका छन् । विभागका अनुसार यस अवधिमा ४१७ साना, दुई मझौला र तीन ठूला उद्योग दर्ता भएका छन् । असोज महिनामा दर्ता भएका सबै उद्योग साना प्रकृतिका छन् ।
संख्यात्मक रूपमा सूचना प्रविधिमूलक उद्योगमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । पहिलो त्रैमासमा २५२ सूचना प्रविधिमूलक उद्योग दर्ता भएका छन् । त्यस्तै, पर्यटनमूलक १०८, सेवामूलक ३३, उत्पादनमूलक २५ तथा ऊर्जा र कृषितर्फ दुई–दुई उद्योग दर्ता भएको विभागले जनाएको छ ।
लगानी प्रतिबद्धताको रकमका आधारमा भने पर्यटन क्षेत्र अगाडि छ । यस क्षेत्रमा ६ अर्ब आठ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । त्यस्तै, ऊर्जा क्षेत्रमा चार अर्ब र पूर्वाधारमूलक उद्योगमा तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता स्वीकृत भएको छ ।
उत्पादनमूलक उद्योगमा एक अर्ब ६० करोड रुपैयाँ र सूचना प्रविधिमूलक उद्योगमा ९२ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको उद्योग विभागको तथ्यांक छ ।