© 2026
दाङ । जव जव दसैं र तिहार घर आँगनमा आउन लाग्छ अनि दाङको घोराही उपमहानगरपालिका ११ मा सारङ्गीको धुन गुञ्जिन थाल्छन् ।
नेपाली मौलिक लोक संस्कृतिको पहिचान बोकेको सारङ्गी बजाउँदै घरघर पुग्ने परम्परा घोराहीको विभिन्न वडाहरुमा अझै कायमै रहेको छ ।
दाङको घोराही उपमहानगरपालिका ११ का छवि गन्धर्व सारङ्गी बजाउँदै घर घरमा पुग्न थालेपछि दसैं तिहार आएको झल्को आउने गरेको स्थानीय बताउँछन ।
सारङीको धुनसँगै लोकभाका सुनाउँदै हिँड्ने उनको दैनिकीले पुरानो सांस्कृतिक परम्परालाई जीबित राखेको छ ।
एक हातमा सानो झोला र अर्को हातमा सारङ्गी बोक्दै गाउँघर हिँडने उनी सारङ्गीको धुनसँगै लोकभाका पनि सुनाउँछन । उनको दैनिकीले पुरानो सांस्कृतिक परम्परालाई जीबित राखेको छ ।
घर घरमा सारङ्गी बजाउन हिड्ने र त्यसबापत पैसा वा चामल लिने गरेको उनी बताउँछन् । हातमा सारङ्गी बोकेर घरघर पुग्ने उनले गीत र सङ्गीतमार्फत मानिससँग सम्बन्ध जोड्ने गर्छन् । यही पेशाबाट ६ जना परिवारको भरणपोषण गरेको उनले बताए ।
पहिले पहिले गाउँघरमा गन्धर्व समुदाय सारङ्गी बजाउँदै गीत गाएर घरघर पुग्ने र विभिन्न घटनाक्रम तथा जनजीवनसंग जोडिएका कथा सुनाउने गर्थे । यही परम्पराले नेपाली लोकसङ्गीतको विकासमा महत्वपूर्ण योगदान दिएको छ । र, यसले निरन्तरता पनि पाएको छ ।
छवि गन्धर्ब भन्छन– समय परिवर्तनसँगै मनोरञ्जनका माध्यम फेरिएका छन् । रेडियो, टेलिभिजन र मोबाइल फोनको बढ्दो प्रयोगले परम्परागत लोकसङ्गीत सुन्ने र सुनाउने शैलीमा पनि परिवर्तन आएकोले चिन्ता थपियो ।
बुवाले सारङ्गी बजाएको देखेर उहाँको पेशा अनुसरण गरेको बताउने छविले आफ्ना तीन छोरा र एक छोरीमध्ये तीनैजना छोराले सारङ्गी बजाउन सिकेको बताउँछन् । तर सबै छोराले बजाउन जानेपनि एउटा छोराले मात्रै आफ्नो पेशा अनुसरण गरेको उनले सुनाए ।
जेठो छोराले काठमाडौमा सारङ्गी बजाउने गरेको उनले बताए । सारङ्गी बजाउँदै घरघर पुग्ने छवि गन्धर्वले कम्तिमा गाउँघरमा पुरानो मौलिक लोकसंस्कृतिको जगेर्नामा ठूलो योगदान दिएका छन् ।
उनी भन्छन– सारङ्गी केवल बाजा मात्र होइन, यो नेपाली समाजको इतिहास, संस्कृति र जनजीवनसँग जोडिएको सांस्कृतिक पहिचान पनि हो । यसको धुनमा सुखदुःख, माया, प्रेम, सामाजिक अवस्था र जीवनका अनेक कथा समेटिएका हुन्छन् ।
परम्परागत बाजा र लोकभाकाको संरक्षणका लागि नयाँ पुस्तालाई समेत सारङ्गी बजाउन र लोकगीतप्रति आकर्षित गर्न आवश्यक रहेको उनको भनाई छ । उनले स्थानीय तह, सांस्कृतिक संस्था र समुदायले यस्ता मौलिक कला तथा कलाकारको पहिचान र सम्मानमा ध्यान दिन सके नेपाली लोकसंस्कृतिको संरक्षणमा सहयोग पुग्ने बताए ।