Butwal Today

साङ्गीतिक प्रस्तुति दिन कतार पुगेकी दोहोरी गायिका सुनिता सम्मानित

११ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

कतार । 

कतारमा आफ्नो साङ्गीतिक प्रस्तुति दिन पुगेकी कलाकार सम्मानित भएकी छिन । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारको आयोजना तथा प्रदेश मातहतमा रहेका विभिन्न जिल्ला संस्थाहरूको समन्वयमा आयोजित बडा दसैँ, तिहार तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन कतार पुगेकी गायिका सुनिता सुनार सम्मानित भएकी हुन ।

गुल्मी सेवा समाज कतारका अध्यक्ष मित्र बिएस र कलाकार सुनिता सुनारको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न भएको हो । लुम्बिनी प्रदेश समन्वय परिषद् कतार र गुल्मी सेवा समाज कतारले संयुक्त रूपमा आयोजना गरेको सम्मान कार्यक्रममा गुल्मी सेवा समाज कतारका प्रमुख संरक्षक बुद्ध पाण्डेय, परिषद्का अध्यक्ष सजन लौडारी, टेक राज थापा, राजन चापागाईँलगायतका व्यक्तित्वहरूले सुनारलाई दोसल्ला ओढाएर सम्मान पत्र र मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए ।

सम्मान ग्रहण गरेपछि गायिका सुनारले लामो समयदेखि कतार आउने सपना रहेको बताउँदै लुम्बिनी प्रदेश समन्वय परिषद् कतारले आफ्नो सपना पूरा गरिदिएकोमा आभार व्यक्त गरिन् । आफ्नो पहिलो साङ्गीतिक प्रस्तुतिका लागि कतारसम्म आउने अवसर जुटाउन सहजीकरण गर्ने सम्पूर्ण लुम्बिनीवासीप्रति धन्यवाद व्यक्त गर्दै उनले कतारमा प्राप्त माया, साथ र सद्भावलाई जीवनभर अविस्मरणीय बनाइरहने बताइन् ।

गुल्मी सेवा समाज कतारका अध्यक्ष मित्र बिएसले गायिका सुनारलाई आफ्नो साधनालाई निरन्तरता दिँदै सिर्जनामार्फत समाजमा सकारात्मक प्रभाव छोड्न आग्रह गरे । विदेश भ्रमणको सङ्ख्याभन्दा सिर्जनाले समाजमा पारेको प्रभाव नै सफलताको वास्तविक मापन भएको उल्लेख गर्दै उनले सुनारको उज्ज्वल भविष्य र साङ्गीतिक सफलताको शुभकामना व्यक्त गरे । सोही अवसरमा विश्वकर्मा सेवा समाज कतारले समेत गायिका सुनारलाई सम्मान गरेको थियो ।

सुनिता बुधवार बिहान मातृभूमि फर्किसकेकी छिन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?