© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसले बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन मङ्सिर मसान्तभित्र सम्पन्न गर्ने भएको छ । नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाले अधिवेशनको मिति केन्द्रीय कार्यसमितिको बैठकले तय गर्ने जानकारी दिएका छन् ।
‘बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन मङ्सिरमा गरिसक्छौँ । मिति भने टुङ्गो लागेको छैन,’ महामन्त्री राणाले भने, ‘बिहीबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ छ । शपथपछि केन्द्रीय कार्यसमितिको बैठक बसेर मिति तय गर्छौँ । अधिवेशन छठलगत्तै पनि हुन सक्छ, मङ्सिरको अन्तिममा पनि हुन सक्छ । निर्णय केन्द्रीय समितिको बैठकबाट हुन्छ ।’
गत असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गरेको कांग्रेसले जिल्ला र प्रदेश अधिवेशन भने बाँकी राखेको थियो । त्यसबेला वडा, पालिका, प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रका अधिवेशन सम्पन्न गरेर पार्टीले केन्द्रीय महाधिवेशन गरेको थियो ।
केन्द्रीय महाधिवेशनका लागि आवश्यक पर्ने अधिवेशनलाई प्राथमिकता दिँदै समयको चापका कारण जिल्ला र प्रदेश अधिवेशन पछि गर्ने निर्णय कांग्रेसले गरेको थियो ।
हालसम्म एउटा मात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी ४२ जिल्लामा अधिवेशन हुन बाँकी छ । महाधिवेशन प्रतिनिधि निर्वाचन क्षेत्रबाट छनोट हुने भएकाले एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा पहिले नै अधिवेशन गरिएको हो ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले जिल्ला र प्रदेश अधिवेशनको मिति नवनिर्वाचित केन्द्रीय समितिले तय गर्ने बताए ।अधिवेशन मङ्सिरभन्दा पछि नसर्ने उनको भनाइ छ ।