Butwal Today

साइबर सुरक्षा र सुरक्षित इन्टरनेट प्रयोगबारे विद्यार्थीमार्फत सचेतना

११ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

सल्यान ।

साइबर अपराध र इन्टरनेटको असुरक्षित प्रयोगबाट हुन सक्ने जोखिम न्यूनीकरणबारे सल्यानमा विद्यार्थीलाई अभिमुखीकरण गरिएको छ । विद्यार्थी मार्फत परिवार र समुदायसम्म सचेतना फैलाउने उद्देश्यले जिल्लाको शारदा नगरपालिकामा एकीकृत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

‘सुरक्षित समाजको निर्माण, हामी सबैको प्रयास’ भन्ने नारा सहित शारदा नगरपालिका–२, दोमाटीस्थित ब्राइट पर्ल एकेडेमीमा आयोजित कार्यक्रममा कक्षा ९ र १० का ५० भन्दा बढी विद्यार्थीलाई साइबर अपराध, साइबर सुरक्षा र इन्टरनेटको सुरक्षित प्रयोगबारे प्रशिक्षण दिइएको नगरपालिकाले जनाएको छ ।

शारदा नगरपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सल्यानको सहकार्यमा सम्पन्न कार्यक्रममा प्रहरी निरीक्षक ईश्वर रोकायाले विद्यार्थीलाई साइबर अपराधका सम्भावित जोखिम, अनलाइन सुरक्षाका उपाय तथा इन्टरनेट प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नगर प्रमुख प्रकाश भण्डारीले विद्यार्थी मार्फत परिवार र समुदाय स्तरसम्म सचेतना विस्तार गर्ने उद्देश्यले स्थानीय सरकार र सुरक्षा निकायको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे । उनले सुरक्षित समाज निर्माणका लागि नागरिकमा सचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको धारणा राखे ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी बन्दना कुमारी केसी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (प्रनाउ) दीपक पातली, विद्यालय व्यवस्थापन समिति सदस्य गौरीलाल गिरी सहित शिक्षक तथा कर्मचारीको सहभागिता थियो ।

विद्यार्थीलाई डिजिटल माध्यमको सुरक्षित प्रयोगबारे जानकारी गराएर उनीहरू मार्फत परिवार र समुदायमा समेत साइबर सुरक्षा सम्बन्धी सन्देश विस्तार गर्ने अपेक्षा सहित कार्यक्रम सञ्चालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?