© 2026
काठमान्डौँ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्व सकिएलगत्तै सरकार परिवर्तन गर्ने वा ढाल्ने चर्चा सुरु हुनु विडम्बनापूर्ण र चिन्ताजनक भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताएका हुन् ।
विगतमा पटकपटक सरकार परिवर्तन हुँदा त्यसका दुष्परिणाम देखिइसकेको उल्लेख गर्दै भट्टराईले फेरि पनि त्यही प्रवृत्ति दोहोर्याउनु देशलाई अनिश्चिततातर्फ धकेल्नु भएको बताएका छन् ।
‘अब पनि दोहोर्याइरहनु भनेको देशलाई अनिश्चितताको भुमरीमा फसाइराख्ने, अर्थतन्त्रलाई पातालतिर धसाइराख्ने, छोराछोरी विदेशतिर लखेटेर बाबुआमा पुर्पुरोमा हात लगाएर बसिरहने, देशलाई मडारिँदो भूराजनीतिक आँधीबेहरीको जोखिममा होम्ने अल्पदृष्टि र पटमूर्खता बाहेक अरू के हुन सक्छ ?’ उनले लेखेका छन् ।
भट्टराईले उन्नत बहुदलीय लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर प्रतिस्पर्धा तथा सहकार्य हुनु स्वाभाविक भएको बताएका छन् । सदन र सडकमा आलोचना तथा प्रत्यालोचना हुनु पनि लोकतान्त्रिक व्यवस्थाको आवश्यक पक्ष भएको उनको भनाइ छ ।
सरकार र राज्यका विभिन्न अंगमा रहेका व्यक्तिहरूलाई निरन्तर खबरदारी गर्न उनले नागरिकलाई आग्रह गरेका छन् । विशेषगरी विपत्तिमा परेका, ऐतिहासिक रूपमा वञ्चितीकरणमा परेका तथा गरिब र निमुखा जनताको आवाज सत्तामा रहेकाहरूले सुन्नुपर्ने उनले बताएका छन् ।
जनताको आवाज नसुन्ने सत्ताधारीलाई विधिसम्मत प्रक्रियाबाट दण्डित गर्नुपर्ने र आवश्यक परे पदबाट हटाउनुपर्ने उल्लेख गर्दै भट्टराईले निर्वाचित सरकारलाई संविधानको सीमाभित्र रहेसम्म पूरा कार्यकाल काम गर्न दिनुपर्नेमा जोड दिएका छन् ।
‘काम नगरे वा विगारे अर्को चुनावबाट बिदा गरौँ,’ भट्टराईले लेखेका छन् ।