Butwal Today

विवादित अडियोबारे खगेन्द्र सुनारको इन्कारी पत्र, छानबिन जारी

८ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

काठमान्डौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादमा आफ्नो संलग्नता अस्वीकार गर्दै पार्टीको अनुशासन आयोगमा लिखित इन्कारी पत्र बुझाएका छन् ।

सुनार र एक महिलाबीच भएको भनिएको संवादबारे पार्टीले गठन गरेको छानबिन समितिसमक्ष उनले अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गरेका हुन् ।

अनुशासन समितिका उपप्रमुख एवं छानबिन समितिका संयोजक अधिवक्ता हरिचन्द्र भट्टराईले सुनारको लिखित जवाफ प्राप्त भएको जानकारी दिए । उनका अनुसार सुनारले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका धारणालाई नै लिखित पत्रमा समेत उल्लेख गरेका छन् ।

‘उहाँले इन्कारी गर्नुभएको छ । त्यो बोली मेरो होइन भन्ने कुरा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा राखेका विषयहरू नै लिखित पत्रमा मोटामोटी आएका छन्,’ भट्टराईले भने ।

सुनारले आरोप अस्वीकार गरेपछि समितिले घटनासँग सम्बन्धित स्वतन्त्र प्रमाण संकलन तथा अडियोको सत्यता परीक्षण गर्ने प्रक्रिया अघि बढाएको छ ।

विवादित अडियो सार्वजनिक भएपछि सुनारले उक्त सामग्री कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग गरेर तयार पारिएको दाबी गरेका थिए । प्रहरीमा भएको भ्रष्टाचारको मुद्दा उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको उनको जिकिर छ ।

सामाजिक सञ्जालमा उनले सार्वजनिक भएका आरोप झुटा भएको र एआईलगायत प्रविधिको प्रयोग गरेर प्रचार गरिएको दाबी गरेका थिए ।

छानबिन समितिले अडियो प्रसारण गरेको जनआस्था पत्रिकासँग सम्पादन हुनुअघिको अडियो प्राप्त गरेको छ । त्यस्तै, पीडित भनिएकी महिलाको अन्तर्वार्ताको अडियो उपलब्ध गराउन समितिले न्युज २४ लाई पत्राचार गरेको छ ।

सुनारको इन्कारी पत्र र महिलाको अन्तर्वार्तामा व्यक्त विचारका कारण छानबिन प्रक्रिया थप जटिल बनेको समितिले जनाएको छ ।

संयोजक भट्टराईका अनुसार समितिले सुरुमा जनआस्थाबाट प्राप्त अडियोको आन्तरिक रूपमा परीक्षण गर्नेछ । त्यस क्रममा थप जटिलता देखिएमा प्राविधिक परीक्षणका लागि सम्बन्धित निकायमा पठाइनेछ ।

‘जनआस्थाको अडियोलाई आन्तरिक रूपमा भेरिफाई गर्ने कार्य गर्छौं । त्यसमा केही जटिलता आयो भने प्राविधिक जाँचका लागि सम्बन्धित निकायमा पत्राचार गर्छौं,’ भट्टराईले भने ।

उनका अनुसार अडियोको प्राविधिक परीक्षणपछि सुनारसँग सोधपुछ गरिनेछ । परीक्षणमा लाग्ने समयका आधारमा छानबिनको अवधि तय हुने भए पनि अन्य काममा समिति अघि बढिसकेको उनले बताए ।

विवादित अडियो सार्वजनिक भएपछि रास्वपाले यस विषयमा चासो देखाउँदै सांसद सुनारमाथि आन्तरिक छानबिन गर्न पार्टीको अनुशासन आयोगलाई निर्देशन दिएको थियो । छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?