Butwal Today

जोर्डनको चर्चमा भएको आतंकवादी हमलाको राष्ट्रसंघ प्रमुखद्वारा निन्दा

७ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

संयुक्त राष्ट्रसङ्घ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जोर्डनको दक्षिणी प्रान्त कराकस्थित एक चर्चमा अन्त्येष्टि समारोहका क्रममा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गरेका छन् ।

महासचिवका प्रवक्ता स्टेफन डुजारिकले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत गुटेरेसले सर्वसाधारण नागरिक तथा धार्मिक स्थललाई लक्षित गरी गरिने आक्रमण कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “धार्मिक स्थलहरू शान्तिका केन्द्र हुनुपर्छ र त्यहाँ सबैका लागि सुरक्षाको प्रत्याभूति हुनुपर्छ ।”

गुटेरेसले घटनामा सङ्लग्न दोषीहरूको पहिचान गरी उनीहरूलाई कानुनी दायरामा ल्याउनसमेत जोड दिएका छन् । उनले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको प्रवक्ता डुजारिकले जानकारी दिए ।

प्रवक्ताका अनुसार, संयुक्त राष्ट्रसङ्घले यस कठिन घडीमा जोर्डन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता व्यक्त गरेको छ ।

जोर्डनको कराकस्थित चर्चमा अन्त्येष्टि समारोह चलिरहेका बेला भएको गोलीकाण्डमा सात जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए । घटनापछि जोर्डन सरकारले तीनदिने राष्ट्रिय शोक घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?