Butwal Today

दक्षिणा नपाउने केटाहरुको दशैं

४ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

बाल्यकालमा दशैले केटाकेटीलाई उत्साहित बनाउनुमा मिठो खाना, राम्रो नाना र दक्षिणाको मुख्य भूमिका रहन्थ्यो । मालभोग केरा,च्युरा, मासु, सेलरोटी र अचार दशैका मुख्य परिकार हुन्थे । हरेक वर्ष दोहोरिने यस्ता परिकारले केटाकेटीलाई खासै फरक पार्थेंन । नयाँ नानाको रुपमा आकाशे रंगको सर्ट र निलो पाइन्ट पाइन्थ्यो । जसले दशैको नयाँ कपडा र स्कूलको ड्रेस दुबैको काम गर्थ्यो । खास महत्व त दक्षिणाको हुन्थ्यो । घरमा दुई रुपियाँ सम्म पाइन्थ्यो । आफ्नै मामा नभएकोले मामाघरको आम्दानि प्राप्त हुन्थेंन । आमाको साँइलो बाको घर नै हाम्रो मावल थियो । त्यहाँ टिका लगाउदा १र२ रुपियाँ आउने सम्भावना रहन्थ्यो । टिका लगाउन त गाउँका प्रायजसोको घर गईन्थ्यो, तर त्यहाँ केटीहरुलाई एक सुका मोहरसम्म दिएपनि केटाहरुलाई दक्षिणा दिन हुदैन भन्थे । टिका लगाइदिने कुनै दयालु परेछन भने केटाहरुले पनि १० पैसासम्म पाउने सौभाग्य पाउँथे । त्यसैले मावल नभएका केटाहरुले जति घर चाहरेपनि ५ रुपिया पुर्‍याउन मुस्किल हुन्थ्यो ।

दशैमा जम्मा गरेको दक्षिणाले स्कूल खुलेपछि फुर्मास गर्न पाइने भएकोले दशैमा सकेसम्म धेरै दक्षिणा जम्मा गर्ने ध्याउन्नमा हामी केटाकेटीहरु हुन्थ्यौ । धेरै घरमा टिका लगाउदा धेरै दक्षिणा पाइने सम्भावना हुने भएकोले बा आमासँग बोलचाल हुने सबैको घरमा, गाउँका गण्यमान्यको घरमा, आफन्तको पनि आफन्तको घरमा टिका लगाउन पुगिन्थ्यो ।
सधै दशैमा बा खलकमा टिका लगाएपछि मावली खलकमा टिका लगाउन जान्थ्यौ । एकसाल टाढाको आफन्त मरेर जुठो परेकोले बा आमाले टिका लगाउनु भएन । केटाकेटीले टिका लगाउन छुट भएकोले दिदि बहिनीहरुसंग मामाघर गएँ । हजुरबा हजुरआमा कतै टिका लगाउन जानुभएकोले घरमा हुनुहुन्थेन । एकजना मामा मात्र हुनुहुन्थ्यो । मामाले राडीमा लहरै राखेर हामी ५ जना केटाकेटीलाई टिका लगाईदिनुभयो । भर्खर एसएलसी पास गरेर क्याम्पस पढ्न थाल्नुभएको मामाले सकेसम्म मिलाएर आशिर्वाद दिनुभयो । तर हामीलाई आशिर्वाद भन्दा पनि दक्षिणाको चिन्ता थियो । मामाले सबैको टाउकामा जमरा घुसारेपछी दक्षिणा पाइने पक्का थियो । मामाले टिका लगाएको हात पुछपाछ गर्नुभयो । अब कति दक्षिणा पाइन्छ भनेर मामाको हातमा हेर्‍यौं ।। तर मामाले दक्षिणा दिनुको साटो हातमा एक एकवटा पहेला केरा राखिदिएर भन्नु भयो, “पोहोर पराल बोक्न गएको साढे सात रुपिया मैले भिनाजुसँग लिन बाकि छ, त्यहि पैसा मागेर ५ जना भान्जाभान्जिले बाँडेर लिनु ।”
हजुरबा घरमा नभएकोले दक्षिणा कम पाइन्छ भनेर मन खिन्न भैरहेको थियो, त्यसमाथि मामाको उधारो दक्षिणाले मन अमिलो भयो। रुन मात्र सकिएन। दशैमा २र४ रुपियाँ कमाउने सपना तुहिएकोले पिलपिल गर्दै घर आयौ ।

त्यो बेला दक्षिणा दिने कुरामा साह्रै विभेद हुन्थ्यो । टिका लगाईदिने मान्छेले केटाहरलाई दक्षिणा नदिने अनेकौँ बाहाना निकाल्थे । कान्छोबाको ससुराली नाता पर्नेको घर नजिकै थियो । उनीहरुमध्ये एकजनासँग ठुलोबाको मितेरी नाता समेत थियो । कान्छी आमालाई बहिनि भन्ने भएकोले उनका छोराछोरीलाई भान्जा भान्जी भन्थे । त्यो नाताले हामीपनि भान्जा भान्जी नै भैयो । एकसाल कान्छो बाका छोराछोरी पार्वती दिदी, नारन दाई, मैया र किस्नेसंग मेरा बहिनीहरु र म पनि उनीहरुको मामा पर्नेको घरमा टिका थाप्न गयौ । टिका लगाईदिएर बहिनीहरुलाई १०र१० पैसा दिएपछि घरमुलिले भने“ यिनीहरु त कन्या भएकोले दक्षिणा दिएँ, तिमीहरु त छोरा हौ क्यारे, छोरालाई पैसा दिन भएन ।”
फेरी मन अमिलो भयो । ५र१० पैसा दक्षिणा पाउने सपना तुहियो । कन्सिरी तात्यो । मैले त दक्षिणा पाइन् नै , उनले भान्जा भन्ने नारन दाइले समेत छोरा भएकोले दक्षिणा पाएनन् । त्यसपछिका वर्षहरुमा दशैंमा उनका घरतिर फर्केर पनि हेरिएन।

केहि आफन्त पर्ने र केहि गाउँले पण्डित र पाका मान्छेहरु भएको घरमा बा आमा टिका थाप्न जानुहुन्थ्यो– आशिर्वाद लिन भनेर । हामी केटाकेटीहरुपनि पछि लागेर जान्थ्यांै । बा आमासँग जाँदा बहिनीहरुसंगै मैलेपनि एक सुकासम्म हात पार्थें । दिपनगरदेखि शान्तिनगरसम्म कसले केटाहरुलाई दक्षिणा दिन्छन, कसले ५र १० पैसा वा सुका मोहर दिन्छन, कसले दक्षिणा दिन्नन् भन्ने हामीलाई पत्तो हुन्थ्यो । मनमा बनाएको त्यहि सुची अनुसार अर्को वर्षको दशैमा टिका लगाउन जान्थ्यौं । दिपनगरमा खनाल र घिमिरे खलक, ज्योतिनगरमा लोकनाथ पण्डित, छिमेकी कुरुन्चेली साइलोबार आमा, नेपानेबाहरु, बलामे बा नाता नपरेपनि केटाहरुलाई टिका लगाएर दक्षिणा दिनेमा पर्थे । ठुली आमाको नाता पर्ने ढकालमामा, पुड्के भण्डारी, कटहरे पण्डितले पनि केटाहरुलाई दक्षिणा दिन्थे । त्यसैले उनीहरु हामी केटाकेटीलाई निकै मन पर्थे ।

कहिलेकाही हातमा आउने लागेको दक्षिणा पनि फुस्कंथ्यो र पुरै दशैँ खल्लो बन्थ्यो । एकपटक दशैमा एकजना टाढाको आफन्त पर्नेको घरमा टिका लगाउन गएँ । उनको छोराले बम्बैमा राम्रै काम पाएकोले उनले अघिल्लो वर्षदेखि दक्षिणामा उदारता देखाउन थालेका थिए । उनले केटाकेटीलाई पनि एक दुई रुपियाको कट्कटिया नयाँ नोठ दिन्थे । टिका लगाउन पुग्दा टिका थाप्नेको लाइन थियो । उनले टिका लगाईदिदै नयाँ नोठ दिइरहेका थिए । नाति पर्ने भएकोले मैले पनि नयाँ नोठ पाउने निश्चित थियो । मेरो पालो आउनै लाग्दा एकजना मान्छे हस्यांगफस्यांग गर्दै आएर हजुरबाको कानमा फुस्फुसायो । उनले आत्तिदै धारामा गएर निधारको टिका पखाले । हामी केटाकेटीले केहि बुझ्न सकेका थिएनौ । परिवारमा आपसमा खासखुस चल्यो अनि सुक्क सुक्क रुन पनि थाले । पछी थाहा भयो– हिजै उनका आफन्त मरेका रहेछन, मान्छेले खबर लिएर आउदा दशैको दिनमा बल्ल आइपुगे । त्यहाँ टिका लगाउने कार्यक्रम अन्त्य भयो । मुखैमा आएको आहारा फुस्किए झैँ भयो ।
माइली आमाका सोल्टी थिए एकजना । हामि सानो बा भन्थ्यौ । उनि वर्षमा आधा भन्दा बढी समय कतै हराउँथे र आधा समय मात्र घरमा झुल्किन्थे । दशैको दिन कताबाट हाम्रो घरमा टुप्लुक्क आए । बा आमाको हातबाट टिको थापे । मेरा बहिनीलाई पनि टिका लगाएर एकएक रुपियाको डबल दिए। मलाई पनि टिका लगाईदिएर् गोजी छामछुम गरे । पैसा रहेनछ । त्यसपछि उनले भने “ मसंग पैसा सकिएछ, मसंग घर हिड, उतै दिउला ।”

एक रुपियाँको सवाल थियो । म पछि लागें । घर पुग्दा सानिमा पनि रहिछन् । उनले पनि टिका लगाईदीइन् । सानोबाले एक रुपियाँको ढ्याक हातमा राखिदिए । सानिमाले “ छोरालाई पनि कसैले दक्षिणा दिन्छरु” भन्दै त्यो ढ्याक मेरो हातबाट च्यात्त खोसेर लगिन् । सानोबाले जति भनेपनि उनले फिर्ता दीईनन्, बरु केटाकेटीको बानी बिगार्ने भन्दै सानोबालाई गाली गरिन् । म रुन्चे अनुहार बनाएर अँध्यारोमा घर फर्कें ।
जति कोशिस गरेपनि दशैमा १० रुपिया दक्षिणा पुर्‍याउने सकिएन ।
एकसाल भने सोचेजस्तो भयो । त्यो साल दशैमा टिका लगाउन भारतबाट सानिमा र सानोबा पनि मामाघर आएका रहेछन । हजुरबाले टिका लगाईदिएपछि उनीहरुले पनि टिका लगाइदिए। सानोबाले आइसी ५ रुपिया र सानिमाले आइसी २ रुपिया दिए । त्यतिबेला भारतीय एक रुपियाको १६५ वा १६८ पैसा यस्तै कति हुन्थ्यो । घरमा पाएको दुई रुपिया, मावलमा पाएको २ रुपियाँ सहित थप करिब १२ रुपिया पाएको थिएँ । पहिलोपटक दशैमा टिका लगाएर १५ रुपिया भन्दा बढी रकम जम्मा गर्न पाउदा गजक्क फुलेको थिएँ म ।

फुरुंग हुदै घर आएँ । सदाको दशैँ जस्तै आँगनमा लिंगेपिंग बनाएका थियौं । घर आउने बित्तिकै मच्चिमच्ची पिङ खेलें ।
दिदीबहिनीहरु जम्मा भएपछी दक्षिणाको कुरो उठ्यो। म पनि गजक्क पर्दै पैसा देखाउन खल्तीमा हात हालें ।
ला‘। पैसा त छैन १
म असिनपसिन भएँ । यताउति खस्यो कि भनेर खोजें, मावलबाट आउँदा खस्यो कि भनेर दगुर्दैदगुर्दै मावलसम्म पुगेर फर्कें। पिङको वरिपरी, आगन, भान्साकोठा, सुत्नेठाउँ जताततै खोजें । अहँ, कति भेटिएन ।
बसेर रुनु सिवाय मैले गर्न सक्ने अर्को उपाय थिएन । म रोएपनि पैसा आउने कुरै थिएन् ।। जिन्दगीमा पाएको सबैभन्दा धेरै दक्षिणा र मैले मेरो भन्न पाउने सबैभन्दा ठुलो रकम हराएको थियो ।
त्यसपछि बाल्यकालमा दशैमा टिका पछि कहिल्यै दक्षिणाको आश लागेन । हजुरबाको निधन पछि मावलमा टिका लगाउन जाने क्रम टुट्यो । बा खलक र छिमेकी बाहेक अन्यत्र दशैमा टिका लगाइन । यसको सिधा अर्थ हो बाल्यकालभरि मैले दशैमा दक्षिणा पाइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?