© 2026
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन सबै एकजुट हुन आवश्यक रहेको बताएका छन्।
विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक रहेको बताएका हुन्।
उनले विकृति र विसङ्गति हटाउन इमानदार प्रयास, अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गर्दै परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री शाहले विजयादशमी असत्यमाथि सत्यको विजयको उत्सव भएको उल्लेख गर्दै यस पर्वले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने बताएका छन्।
उनले पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको र भगवान् रामले रावणको अन्त्य गरेको दिनका रूपमा विजयादशमी मनाइने उल्लेख गरेका छन्।
शाहले विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्। साथै, यस पर्वले वर्षौँदेखि टाढिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता साट्ने अवसर प्रदान गर्ने बताएका छन्।
विजयादशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रधानमन्त्री शाहले आआफ्नो क्षमताअनुसार पर्व मनाउन र आपसमा सद्भाव, एकता, सम्मान तथा माया साट्न आग्रह गरेका छन्।