Butwal Today

दशैँको मुखमा महँगीको मार

३० आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

बाणगंगा ।
दशैँ नजिकिँदै छ । घरघरमा चाडपर्वको तयारी सुरु भएको छ । नयाँ लुगा लगाउने, घरायसी सामान किन्ने र मीठोमसिनो खाने नेपाली परम्पराले बजारमा चहलपहल बढाउनुपर्ने बेला हो यो । तर, कपिलवस्तुको बाणगंगा नगरपालिका–४, चार नम्बर क्षेत्रको बजारमा भने विगतका वर्षहरूमा जस्तो दशैँको रौनक देखिएको छैन । बजारमा सामान छन्, पसलहरू चाडपर्वका लागि तयार छन्, तर ग्राहकको उपस्थिति र कारोबार अपेक्षाअनुसार बढ्न सकेको छैन । अर्कोतर्फ,दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा र जुत्ता–चप्पलसम्मको मूल्य बढेको भन्दै उपभोक्ता चिन्तित छन् ।

दशैँ नेपालीहरूको सबैभन्दा ठूलो चाडमध्ये एक हो । वर्षभरि काम गरेर कमाएको पैसाबाट चाडपर्वमा परिवारका लागि नयाँ लुगा किन्ने, घरमा आवश्यक सामान जुटाउने र आफन्तसँग खुसी साटासाट गर्ने सपना धेरैले बुनेका हुन्छन् । तर, यस वर्ष बजारमा किनमेल गर्न पुग्ने उपभोक्ताको मनमा उत्साहभन्दा खर्च कसरी धान्ने भन्ने चिन्ता बढी देखिन्छ । आम्दानी सीमित छ, खर्च बढिरहेको छ । यही आर्थिक दबाबले दशैँको किनमेललाई समेत प्रभावित बनाएको छ ।

बाणगंगामा किराना पसल सञ्चालन गर्ने बबिता खड्काले विगतका वर्षहरूको तुलनामा यस वर्ष बजारमा चहलपहल कम रहेको अनुभव सुनाइन्। दशैँलाई लक्षित गरेर आवश्यक सामान मगाएर पसलमा राखे पनि ग्राहकको आवागमन र कारोबार पहिलेको जस्तो हुन नसकेको उनको भनाइ छ । चाडपर्वका बेला व्यापार बढ्ने अपेक्षा गरिए पनि यस वर्ष त्यो अपेक्षा पूरा हुन नसकेको उनले बताइन् ।

कपडा तथा फेसन सामग्रीको व्यापारमा पनि यस्तै अवस्था देखिएको छ । फेशन फेरेन्जिका सञ्चालक तोलकान्त अधिकारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष बजारमा ग्राहकको चहलपहल कम छ। युवा तथा युवतीका लागि आवश्यक फेसन सामग्रीको मूल्य बढेको छ । चाडपर्वलाई लक्षित गरी नयाँ सामान उपलब्ध गराए पनि किनमेलमा अपेक्षित वृद्धि हुन नसकेको उनले बताए ।

लम्साल किराना पसलका सञ्चालकका अनुसार खाद्यान्नको मूल्यमा ठूलो वृद्धि नभए पनि केही तरकारीको मूल्य बढेको छ । मुला, काक्रालगायतका तरकारीको मूल्य करिब २० प्रतिशतसम्म बढेको उनको भनाइ छ । पसलमा सामानको आपूर्ति पर्याप्त रहेकाले मूल्य र उपलब्धताका विषयमा ग्राहकबाट धेरै गुनासो नआएको उनले बताए । यद्यपि, दैनिक उपभोग्य वस्तुको मूल्यमा हुने सानो परिवर्तनले पनि सीमित आम्दानी भएका परिवारको घरखर्चमा असर पार्ने गर्छ ।

जुत्ता–चप्पलको बजारमा पनि व्यवसायीले अपेक्षित कारोबार गर्न सकेका छैनन् । निर्मल लेदर सु सेन्टरका सञ्चालक मनोज नेपालीले गत वर्षको तुलनामा यस वर्ष व्यापार निकै कम भएको बताए । उनका अनुसार बच्चादेखि वृद्धवृद्धासम्मका लागि आवश्यक जुत्ता, चप्पल र स्यान्डिललगायतका सामग्रीको मूल्य बढेको छ । ग्राहकले आफूलाई मन परेको गुणस्तरीय सामान खोज्ने तर मूल्य तिर्ने बेला सस्तोमा पाउन चाहने प्रवृत्तिले पनि व्यापार सञ्चालन गर्न चुनौती थपेको उनले बताए ।

केसी फेन्सीका सञ्चालक लोक बहादुर केसिका अनुसार बजारमा केही समय अघिको तुलनामा चहलपहल कम भए पनि बालबालिका र महिलाका लुगाको माग भने तुलनात्मक रूपमा बढी छ । इन्धनको मूल्यवृद्धि, बाढीपहिरो तथा भन्सार नाकामा देखिएका समस्याका कारण सामान ढुवानी र खरिद लागत बढ्दा बजार मूल्यमा असर परेको उनको भनाइ छ । ग्राहकको रोजाइ र आवश्यकताअनुसारका सामान उपलब्ध गराउने प्रयास भइरहेको उनले बताए ।

व्यवसायीका यी अनुभवले बजारमा सामानको अभावभन्दा पनि ग्राहकको क्रयशक्ति र व्यापारको गतिमा समस्या रहेको संकेत गर्छन् । पसलहरूमा चाडपर्वका लागि सामान उपलब्ध छन्, तर उपभोक्ताले आफ्नो बजेटअनुसार मात्रै किनमेल गर्नुपर्ने अवस्था छ। विगतमा दशैँ नजिकिँदै जाँदा नयाँ लुगा र घरायसी सामान किन्नेको भीड बढ्ने समय अहिले भने धेरैले मूल्य तुलना गर्ने, आवश्यक सामान मात्रै रोज्ने र खर्च कटौती गर्ने समय बनेको छ ।

उपभोक्ता सरिता केसीले गत वर्षको तुलनामा यस वर्ष सामानको मूल्य निकै बढेको बताइन् । दशैँका लागि आवश्यक सामान किन्नुपर्ने भए पनि मूल्यवृद्धिका कारण खर्च व्यवस्थापन गर्न कठिन भएको उनको भनाइ छ । चाडपर्वमा परिवारका सदस्यका लागि नयाँ लुगा तथा अन्य आवश्यक सामग्री किन्ने चाहना भए पनि बढ्दो मूल्यले त्यो चाहना पूरा गर्न सहज नभएको उनले बताइन् ।

अर्का उपभोक्ता श्यामलाल पौडेल पनि दशैँको मुखमा लत्ताकपडा र तरकारीको मूल्य बढ्दा समस्या भएको बताउँछन् । आम्दानीको तुलनामा खर्च बढेकाले यस वर्ष चाडपर्वको आर्थिक व्यवस्थापन गर्न कठिन भएको उनको अनुभव छ । व्यवसायीले पनि सामान महँगो मूल्यमा खरिद गरेर ल्याउनुपर्ने भएकाले उपभोक्तासम्म आइपुग्दा मूल्य बढ्ने अवस्था रहेको उनले बताए। यसले उपभोक्ता र व्यवसायी दुवैलाई दबाबमा पारेको उनको भनाइ छ ।

बजारमा देखिएको यो अवस्थाको अर्को पाटो बजार व्यवस्थापन र अनुगमनसँग पनि जोडिएको छ । उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष गणेश क्षेत्रीका अनुसार बाणगंगा नगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च कपिलवस्तु र उद्योग व्यापार संघ कपिलवस्तुको संयुक्त समन्वयमा बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा म्याद गुज्रिएका सामान नभेटिएको उनले जानकारी दिए ।

क्षेत्रीका अनुसार सडक निर्माणका क्रममा राजमार्ग क्षेत्रमा धुलो र धुवाँ बढ्दा बजारमा ग्राहकको आवागमन तथा व्यवसायीको कारोबार प्रभावित भएको छ । बजारलाई व्यवस्थित र सहज बनाउन पार्किङ व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ। इन्धनको मूल्यवृद्धि तथा भन्सार नाकामा देखिएका समस्याले बाहिरबाट नयाँ सामान ल्याउन कठिन भएको र पुरानो मौज्दातका सामान बिक्री गर्नुपर्दासमेत व्यापारमा असर परेको उनले बताए । यस वर्ष व्यवसायीले पनि अपेक्षा अनुसार कारोबार गर्न नसकेको उनको भनाइ छ ।

उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष टोपनारायण बेल्वासेले बजार अनुगमनलाई चाडपर्वमा मात्रै सीमित नराखी नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । उपभोक्ता आफैँ पनि सचेत हुनुपर्ने बताउँदै उनले सामान खरिद गर्दा मूल्य बुझ्ने, गुणस्तर र म्याद जाँच गर्ने तथा उपभोग गर्दा स्वास्थ्यमा असर पर्छ कि पर्दैन भन्ने विषयमा ध्यान दिन आग्रह गरे । उनका अनुसार देशभित्र उत्पादन कम हुनु र बाहिरबाट सामान आयात गर्नुपर्दा लागत बढ्नु पनि मूल्यवृद्धिको प्रमुख कारण हो ।

बजारमा चाडपर्वको तयारी देखिए पनि किनमेलको उत्साह भने अपेक्षाअनुसार बढ्न सकेको छैन । महँगीले उपभोक्ताको बजेट खुम्च्याएको छ भने कारोबारमा आएको सुस्तताले व्यवसायीको अपेक्षा कमजोर बनाएको छ । एकातिर उपभोक्ता सस्तो र गुणस्तरीय सामानको खोजीमा छन्, अर्कोतिर व्यवसायी बिक्री बढ्ने आशामा ग्राहकको प्रतीक्षा गरिरहेका छन् ।
दशैँको वास्तविक रौनक बजारमा हुने भीडभाडमा मात्रै सीमित हुँदैन।

परिवारले आफ्नो क्षमताअनुसार आवश्यक सामान किन्न सक्नु, उपभोक्ताले उचित मूल्यमा गुणस्तरीय वस्तु पाउनु र व्यवसायीले पनि आफ्नो व्यापारबाट उचित प्रतिफल प्राप्त गर्नु चाडपर्वको अर्थपूर्ण खुसीसँग जोडिएका विषय हुन् । त्यसका लागि नियमित बजार अनुगमन, मूल्यमा पारदर्शिता, सहज आपूर्ति र व्यवस्थित बजार व्यवस्थापन आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?