Butwal Today

दसैँ आयो तर लमही बजारमा छैन रौनक

३० आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

लमही ।

यति बेला दाङका बजारमा दसैँको रौनक सुरु भइसक्नुपर्ने हो । किनमेल गर्ने उपभोक्ताको भीड बढ्नुपर्ने हो । फेन्सी पसलमा नयाँ कपडा छान्ने, किराना पसलमा चाडपर्वका लागि आवश्यक सामग्री किन्ने र बजारमा उपहार तथा दैनिक उपभोग्य वस्तुको कारोबार बढ्ने बेला हो । तर, दाङका बजारमा चाडपर्वको रौनक आएकै छैन ।

लमहीस्थित लालीगुराँस फेन्सी स्टोरका प्रोप्राइटर चुरामणी आचार्य  भन्छन्– यो वर्ष व्यापार छैन । गएको वर्ष एक वर्षको कारोबार एकै दिनमा हुन्थ्यो तर यस पटक बजार सुनसान छ । यो वर्ष चाडपर्वमा रौनक आउनुको कारण बारे उनको भनाई छ–  पहिलो कारण महँगी हो,अर्को  अनलाइन व्यापार हो अनि चाडपर्वका बेला मात्रै किनमेल गर्नुपर्छ भन्ने पुरानो मान्यतामा परिवर्तन आएकै कारण हो ।

लमही फेन्सी पसलका हुसेन मियाँ भन्छन्– समय यही हो। तर, बजारमा अपेक्षित रौनक देखिएको छैन । बजारका पसलहरू खुलेका छन्, सामान सजाएर राखिएका छन्, तर ग्राहकको चहलपहल भने विगतका वर्षको तुलनामा कमजोर छ ।

उता उपभोक्ता भने बढ्दो महँगी, सीमित आम्दानी र दैनिक खर्चको दबाबका कारण आवश्यकताबाहेकका सामान खरिद गर्न हिचकिचाइरहेको बताउँछन् । राप्ती गाउँपालिका १ कि मिना बिक भन्छिन्– चाडपर्वमा नयाँ लुगा लगाउने, घरमा मिठो मसिनो खाने र परिवारका सदस्यका लागि केही नयाँ सामान किन्ने रहर भए पनि महँगीले त्यो रहर पूरा गर्न कठिन बनाएको छ।

देउखुरी उद्योग वाणिज्य सघका पूर्व अध्यक्ष शोभाराम घिमिरेको गुनासो छ– दसैँमा बजार सुनसान हुँदा म मात्रै निराश होइन, सबै निराश छन् ।

अर्कोतर्फ दसैँको मुखमा किनमेलको तयारी गर्नुपर्ने उपभोक्ता अहिले खर्चको हिसाबकिताब मिलाउन व्यस्त रहेको बताउँछन् । दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा र घरायसी सामग्रीसम्मको मूल्यले सर्वसाधारणको बजेटमा दबाब सिर्जना गरेको छ । आम्दानीमा उल्लेख्य वृद्धि नभए पनि खर्च बढ्दै जाँदा चाडपर्वको खुसीसमेत आर्थिक चिन्ताले प्रभावित हुन थालेको उपभोक्ताको गुनासो छ ।

लमहीकी रमा नेपाली भन्छिन्– पहिले चाडपर्वमा परिवारका सबै सदस्यका लागि नयाँ कपडा किन्ने, घरमा आवश्यक सामग्री थप्ने र आफन्तका लागि उपहार लैजाने गरिन्थ्यो तर अहिले महँगी बढ्यो सामान किन्नै सकिँदैन । कसरी दसैँ मनाउने ?

राप्ती व्यापार सङ्घकी उर्मिला चौधरीलाई चाडपर्वको बेला राम्रो व्यापार हुने आशामा खरिद गरेको सामान बिक्री नहुँदा चिन्ता लागेको छ ।
सामान बिक्री नभए लगानी रोकिएर बस्ने र नयाँ सामान ल्याउन समेत कठिन हुने उनले गुनासो गरिन ।

लमही बजारका अरू पसलमा भन्दा किरानामा भने उपभोक्ताको भीड बढेको छ । आचार्य स्टोर लमहीका प्रोप्राइटर भबिन्द्र आचार्य लमहीका अन्य पसलभन्दा किराना पसलमा सामान किन्ने ग्राहक बढेको बताउँछन् ।

त्यसै गरी पछिल्लो समय बदलिँदो प्रविधिसँगै अनलाइन किनमेलप्रति उपभोक्ताको आकर्षण बढिरहेको छ। त्यसको असर सिधै बजारमा परेको छ । मोबाइलबाटै सामान हेर्न, मूल्य तुलना गर्न र घरमै सामान मगाउन सकिने सुविधाले विशेष गरी युवा तथा प्रविधिको प्रयोग गर्ने उपभोक्तालाई आकर्षित गरेकोले बजार सुनसान भएको व्यवसायीको गुनासो छ।

फेन्सी कपडा, जुत्ता, सौन्दर्य सामग्रीदेखि किराना तथा घरायसी सामानसम्म अनलाइनबाट खरिद गर्ने चलन विस्तार हुँदै गएको छ।
व्यवसायी भन्छन्– अनलाइन किनमेलले उपभोक्तालाई समय बचत र विकल्प छनोटको सुविधा दिएको छ तर स्थानीय पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका साना व्यवसायीका लागि यो नयाँ प्रतिस्पर्धाको विषय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?