Butwal Today

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

३० आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-
काठमाडौँ ।
दसैँ नजिकिँदै गर्दा निराजन पौडेलको मन पटकपटक झुक्किन्छ । बजारमा दसैँको तयारीको चहलपहल देख्दा र सहरबाट घर फर्कनेको लर्को देख्दा उनको मनले पनि सम्झाउँछ, “ए, दसैँ आइसकेछ ! अब त घर जाने तयारी गर्नुपर्छ ।”
तर, यो उमङ्गको सानो लहर उठ्न नपाउँदै सेलाउन पुग्छ । दसैँको झल्कोसँगै उनको मनमा भोटेकोशी बाढीको अकल्पनीय कल्पना आउँछ र त्यसले आफ्नो गाउँबस्तीको बिभत्स दृश्य आँखै अगाडि ल्याइदिन्छ ।
जुन घरमा दसैँको खुसी छाउँथ्यो, परिवारसँगै बसेर विगतका दसैँहरु मनाइन्थ्यो आज त्यो घर नै छैन । जुन घरको आँगनमा परिवार र आफन्तसँग आत्मीयता र अपनत्व खुल्थ्यो, आज त्यो आँगन बाढीले बगर बनाइदिएको छ । बाढीले घरसँगै गाउँ फर्कने र रमाउने निराजनको सपना पनि बगाइदिएको छ । त्यसैले एकैछिनको मनको उमङ्गले उहाँलाई पटकपटक झस्काउँछ ।
दसैँ आयो, कैयौँ प्रदेशी घर फर्कन पाउँदैनन् । कसैलाई रोजगारीले रोक्छ, कसैलाई गरिबीले, त कसैलाई बाध्यताले छेक्छ । तर निराजनको पीडा यी सबैभन्दा फरक छ । उनको फर्कने घर नै छैन । अरूका लागि घर पुग्ने हतारो भइरहेको दसैँ उहाँका लागि भने आँशु भएर आएको छ ।
विडम्बना पनि कस्तो भने दसैँको यो छेकोमा निराजनको मन भने आफूले गुमाएको घरको सम्झनामा डुबुल्की मारिरहेको छ । दसैँमा घर पुगेका कैयौँले यतिखेर आफ्ना घरको ढोका खोलिरहँदा निराजनको मनले भने सम्झनाको ढोका खोलिरहेको छ र त्यो खाली घरमा विगतका खुसीहरू खोजिरहेको छ ।
दसैँमा गाउँ फर्कने बाटो त बनेको छ तर तर टेक्ने आँगन छैन । सम्झनामा घर छ तर आँखा अगाडि भने बगर । अनि छातीभित्र कहिल्यै निको नहुने घाउ र नपुरिने रिक्तता । हो, यतिखेर सहरतिर दसैँको माहोल बढ्दै जाँदा निराजनलाई भने भदौ १० गतेको कहालीलाग्दो बज्रपातले पिरोलिरहेको छ । त्यो दिन उनलाई न सम्झन मन छ, न बिर्सन नै सक्छन् ।
नुवाकोटको विदुर नगरपालिका–स्थित सोलेका निराजन पौडेलले भदौ १० गते सर्वस्व गुमाउन पुगे । बुबा वासुदेव पौडेलसहित आमा गोमा, काका हिमालय, काकी उमा र बहिनी हिमानी बाढीमा बेपत्ता भए ।
अहिले उनीसँग न ती प्रियजन छन्, न बाबाआमाले सिन्कासिन्का जोडेर परेवाले गुँड लगाए झैँ जोडेको सम्पत्ति नै बाँकी रह्यो । आफ्नो घरखेत कहाँनिर थियो भन्ने सङ्केत नै छैन ।
“बाबा, दसैँ आयो नी । हामी गाउँ कहिले जाने ? आमाबुबा (हजुरबा–हजुरआमा) ले ‘पिङ खेल्न आऊ है झट्टै’ भनेर किन फोन नगरेको होला ? आजभोलि भिडियो कल किन नगरेको ? दसैँमा घर जाँदा म त रिसाउने हो ।”
यसरी पाँच वर्षीय छोरा लियान पौडेलले बारम्बार राखिरहेको जिज्ञासाले निराजन आँशु नै थाम्न सक्दैनन् । छोराले थाहा नपाओस् भनेर कहिले बाथरुममा, कहिले अर्को कोठामा गएर रुन्छन् र पानीले आँखा धुनछन् । “बाबा, दसैँमा सोले घर गएर पिङ खेल्नुपर्छ भनेर छोराले सोध्दा म त आफूलाई सम्हाल्न नै सकिरहेको हुन्न”, निराजन भन्नछन् ।
अबोध छोरा लियानलाई के थाहा ? भोटेकोशीको बाढीले सोलेको घर छैन, हजुरबा र हजुरआमालाई पनि बाढीले बगायो भनेर । लियानलाई दसैँ आएपछि गाउँको घर पुगिन्छ, हजुरबुबाले हालिदिएको पिङ खेलिन्छ, हजुरआमासँग भेट हुन्छ र पोहोर सालको जस्तै रमाइलो हुन्छ भन्ने लागिरहँदो हो । छोराको चित्त कसरी बुझाउने भनेर निराजन अलमलम छन् ।
“छोरालाई केही थाहा छैन । अझै पनि दसैँमा सोले घर जाने र पिङ खेल्ने भनिरहेको छ । म अर्को कोठामा हुँदासमेत उसको आमाको फोनबाट घर अनि अघिल्लो दसैँमा नै हालिदिएको पिङ देखाउन भन्छ । ऊ आफ्नो घर छ कि छैन भनेर निश्चित हुन खोजिरहेको जस्तो गर्छ”, निराजनले भने ।
गाउँघरको दसैँको रौनक निराजनका लागि अब सम्झनामा मात्रै छ । आमाले कमेरो र रातोमाटो लगाएर घर लिपपोत गर्न थालेपछि दसै घरआँगनीभित्र भित्रिन तम्तयार भएको भान हुन्थ्यो । थाक्रोमा पाकेर पट्ट फुट्न लागेको काँक्रा हुन्थे । दसैका लागि भनेर आमाकै हातले बनाएका अचार हुन्थे । दसैमा काट्नुपर्छ भनेर वरपर घाँस नकाटी राखिन्थ्यो । घरवरपरका झाडी सफा गरेर चिरिच्याट्ट बनाइन्थ्यो । निराजन दसैँ बिदा भएपछि दसैँका लागि भनेर दाउरा खोज्न गएर आमालाई सघाउथे । प्रदेशीहरू गाउँ फर्कन्थे ।
“गाउँ नै रमाइलो, दसैँ रमाइलो,
दसैँ आउँदा मनमा पीर भए नी यसै रमाइलो ।”
अघिल्लो दसैँसम्म शिव हमालको शब्द तथा सङ्गीत र विमल परियार तथा सविता परियारको स्वरमा सजिएको यो दसैँको गीत घन्कन थालेपछि निराजनको मनमा पनि उत्सवको माहोल आउँथ्यो । दसैमा झनै रौनक देखिने, रमाइलो लाग्ने त्यो गाउँ नै अब त उजाड बगर बनिसकेको छ ।
जब पढाई र रोजगारीको सिलसिलामा निराजन काठमाडौँ आए, कहिले छुट्टी होला र गाउँ जाउँलाजस्तो हुन्थ्यो । यसपटक बुबाले घरमा प्लास्टर गरेका थिए । त्यही प्लास्टर गरेको घरमा बसेर टीका र जमरा लगाउँला, आफन्त र साथीभाइसँग भेटौँला भन्ने सोच बनाएका थिए निराजनले । ती आफन्त, काकाकाकी अनि साथीभाइलाई बाढीको भेलले बगायो, अब कहिल्यै भेट्न नपाइने गरी ।
“बुबाआमाले हरेक वर्ष फोन गरेर सोध्नुहुन्थ्यो, “दसैँमा कहिले आउँछौँ ? कति दिन बस्छौँ ? कति मासु खाने ?”, निराजन भन्छन् । सधैँको दसैँमा जस्तै यसपटक पनि आमाले यसो भन्दै फोन गरिदिए पनि हुन्थ्यो जस्तो लाग्छ निराजनलाई ।
“अहिले हामीलाई दसैँ आएको हो कि अरू कुनै दिन हो, छुट्याउनै गाह्रो छ । पहिला दसैँ आउँदा छुट्टै खुसी हुन्थ्यो । अहिले त चाडपर्व आएको अनुभूतिसमेत हुँदैन”, निराजन भन्छन् ।
भूकम्पले विस्थापित, बाढीले सर्वस्व 
विसं २०७२ को भूकम्पले निराजनको परिवारलाई घरबाट विस्थापित गरेको थियो । भूकम्पले गाउँको घर बस्न नमिल्ने भएपछि परिवारका केही सदस्य तल बेँसीतिर झरेका थिए । त्यहाँ जग्गा किनेर घर बनाइएको थियो ।
खेतीपातीबाट हुने आम्दानी पनि परिवारको जीवनयापनको आधार बनेको थियो । भूकम्पपछि बनेको घरमा परिवारले विस्तारै जीवन व्यवस्थित गर्दै लगेको थियो । घर निर्माण भएको एक दशकभन्दा बढी समयपछि बल्ल त्यसलाई अझ राम्रो बनाउने योजना अघि बढ्यो । बुबाले दुई महिनाअघि मात्रै घरमा प्लास्टर गर्न लगाएका थिए । दसैँमा परिवारका सबै सदस्य आउँदा घर राम्रो देखियोस् भन्ने उनको चाहना थियो । घरको स्वरूप फेरिँदै थियो । परिवारका सपना पनि साकार हुँदै थिए । तर, भदौ १० गते आएको बाढीले ती सबै सपना क्षणभरमै बगाइदियो ।
बाढी आउनुभन्दा केही समयअघि निराजनले परिवारलाई गाउँमा नबस्न आग्रह गरेकम थिए । अघिल्लो वर्ष पनि भोटेकोशीमा बाढी आएपछि जोखिम बढेको महसुस गर्दै उनले बुबाआमालाई काठमाडौँ आउन भनेका थिए । नातिको हेरचाह गर्नका लागि पनि परिवारलाई काठमाडौँ ल्याउने सोच थियो निराजनको । तर, बुबा विद्यालयमा अध्यापन गर्थे । अवकाश हुन अझै तीन वर्ष बाँकी भएकाले बुबाले अब दसैँको पेस्की लिएर सोचौँला भनेको निराजन सुनाउछन् ।
“मैले बुबाआमालाई अब त्यहाँ नबस्नुस्, जोखिम छ, काठमाडौँ आउनुस् भनिरहेको थिएँ । तर, यस्तो विपत्ति आउला भन्ने कसैले कल्पना गरेका थिएनौँ”, निराजनले सम्झिए । यदि बुबाआमा काठमाडौँ आएको भए सम्पत्ति गुमाए पनि उनीहरूलाई त गुमाउनु पर्दैनथ्यो भन्ने लाग्छ उनलाइ ।
पेसाले पत्रकार निराजन भदौ १० गते कार्यालयमा थिए । रातोपाटीमा कार्यरत उनी बाढी आएको खबर पाउँदा सुरुमा सामान्य बाढी होला भन्ने ठाने । यसअघि पनि खोला बढ्ने र बाढी आउने गरेकाले यसपटक पनि त्यस्तै होला भन्ने लागेको थियो उनलाई । तर, केही समयपछि गाउँमा बाढी पसिसकेको खबर आयो । काठमाडौँमा बस्ने अर्जुन पौडेलले फोन गरेर बाढी सोलेसम्म आइपुगेको बताए । प्रत्यक्ष दृश्य र समाचारबाट बाढीको भयावहता थाहा हुन थालेपछि निराजनले परिवारका सदस्यलाई फोन गर्न थाले । पहिले आमालाई फोन गरे । सम्पर्क हुन सकेन । बुबालाई फोन गरे, लागेन । काका र बहिनीलाई फोन गर्दा पनि सम्पर्क हुन सकेन ।
फोन नलागे पनि निराजनको मनमा परिवारका सदस्य सुरक्षित ठाउँमा पुगेको विश्वास थियो । यसअघि बाढी आउँदा गाउँका मानिस माथितिर सुरक्षित स्थानमा गएर बसेका थिए । यसपटक पनि सबै जना जङ्गलतिर वा माथिल्लो गाउँमा पुगेका होलान् भन्ने उनलाई लाग्यो । “मलाई दिउँसो २ः०० देखि ३ः०० बजेसम्म सबै जना सुरक्षित हुनुहुन्छ होला भन्ने लागेको थियो । फोन नलाग्नु सामान्य समस्या होला भन्ने सोचेको थिएँ”, उनले भने । पछि गाउँका मानिससँग सम्पर्क हुन थालेपछि अवस्था झन् भयावह भएको थाहा भयो । कतिपयले स्पष्ट रूपमा केही भन्न सकिरहेका थिएनन् ।
गाउँबाट अब सम्हालिनुपर्छ भनेर फोन आउँदा भने उहाँका मनमा चिसो पस्न थाल्यो । तर पनि उनलाई परिवारका सदस्य कतै जङ्गलमा बसेका होलान, फर्किहाल्छन् होला भन्ने लागिरह्यो । दिन बित्दै गए । परिवारका सदस्यको अवस्था पत्ता लागेन । शव पनि फेला परेनन् । कुशको शव बनाएर काजकिरिया गरियो ।
“अहिले पनि मनले उहाँहरू हुनुहुन्न भन्ने मान्न सकेको छैन । कतै जङ्गल या ओडारमा बसिरहनुभएको छ कि भन्ने लाग्छ । कहिलेकाहीँ फोन हेर्न मन लाग्छ । अब दसैँमा घर आउनु भनेर फोन गर्नुहुन्छ कि जस्तो लाग्छ”, उनी भन्नछन् ।
बहिनी हिमानी चीनमा सिभिल इन्जिनियरिङ पढ्दै थिइन र बिदामा घर आएकी थिइन । बाढी आएको दिन उनी काकासँग काठमाडौँ आउने तयारीमा थिइन । पन्ध्र किलोमिटर टाढा पढाउने भएकाले बुबा स्कुलनजिकै बस्नथे । त्यस दिन भने भतिजीलाई बिदा गर्न घर आएका रहेछन् । त्यही दिन आएको बाढीले सबैलाई बगाएर लग्यो ।
निराजनका गाउँका ७८ जना अझै बेपत्ता छन् । अब विपत्तिले दिएको यो मानसिक पीडा कसरी कम गरेर अगाडि बढ्ने भन्ने लागिरहेको छ उनलाई । उनका अनुसार यस्तो विपत्तिबाट प्रभावित मानिसलाई मानसिक रूपमा सम्हालिन समय र राज्यको सहयोग दुवै आवश्यक छ ।
“हामीलाई अब राज्यको अभिभावकत्व चाहिएको छ । घर कहाँ बनाउने ? कसरी बस्ने ? कसरी जीवन चलाउने ? भन्ने आधार चाहिएको छ । कतिपय बालबालिकाले अभिभावक गुमाएका छन् । उनीहरूलाई कसरी सम्झाउने र उज्ज्वल भविष्य कसरी निर्माण गर्ने भन्ने पनि सोच्नुपर्छ”, उनको सुझाव छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?