Butwal Today

धानबालीमा रोगको प्रकोप

३० आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

गुल्मी । गुल्मीका विभिन्न स्थानमा लगाइएको धानबालीमा कालोपोके र घाटी मरुवा रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । रोगका कारण पाक्ने बेलाको धानमा क्षति पुगेपछि यस वर्ष जिल्लाको धान उत्पादन घट्ने अनुमान गरिएको छ ।

जिल्लाको मदाने गाउँपालिका–१ स्थित पेयुपाटा, अग्लुङ्फेदी र अग्लुङ तथा मुसिकोट नगरपालिका–१ को भर्माचौर क्षेत्रमा लगाइएको धानबालीमा यी रोगको प्रकोप बढी देखिएको हो । विशेषगरी ‘जी–१०’ र ‘शङ्कर ३०३’ जातका हाइब्रिड धानमा समस्या देखिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख विवेक पन्तले जानकारी दिएका छन् ।

घाँटी मरुवा रोगका कारण धानको बालामुनिको भाग सुखेर भाँचिने गरेको छ भने कालोपोके रोगका कारण दानाको सट्टा कालो ढुसी लाग्ने गरेको छ । यसबाट धानमा दाना नलाग्ने र उत्पादनमा प्रत्यक्ष असर पर्ने भएपछि किसान समस्यामा परेको मदाने गाउँपालिका–१ का वडाध्यक्ष सुशील चन्दले बताए ।

रोगको प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्र गुल्मीको प्राविधिक टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी किसानलाई रोगको पहिचान, रोकथाम र नियन्त्रणका उपायबारे परामर्श दिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख विवेक पन्तले विशेषगरी हाइब्रिड जातका धानमा रोगको समस्या बढी देखिएको बताए । उनले स्थानीय जातका धानमा भने हालसम्म यस्तो प्रकोप देखिएको छैन ।

कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत नवराज घिमिरेले कालोपोके रोग बीउबाट सर्ने भएकाले बालीमा रोग देखिइसकेपछि त्यसको तत्कालै नियन्त्रण गर्न कठिन हुने बताए । अनुगमनका क्रममा उहाँले आगामी वर्ष धानको जात परिवर्तन गर्न र रोप्नु अघि बीउको उपचार गरेर मात्र धान रोप्न किसानलाई सुझाव दिएको बताए । घाँटी मरुवा रोगको नियन्त्रणका लागि कृषि प्राविधिकले सिफारिस गरेका ढुसीनाशक विषादी सुरक्षित तरिकाले प्रयोग गर्न सुझाव दिइएको छ । “धान पाक्ने बेलामा रोग देखिएपछि किसान निकै चिन्तित हुनुहुन्छ”, वडाध्यक्ष चन्दले भने । यसका लागि आफूहरूले कृषि ज्ञान केन्द्रको टोलीसँगै किसानको धान खेतमै पुगेर आवश्यक परामर्श र समन्वय गरिरहेको उनले बताए ।

कृषि ज्ञान केन्द्रले पनि किसानहरूलाई स्थानीय हावापानी र माटो अनुकूलका जात छनोट गरी गुणस्तरीय बीउ प्रयोग गर्न सुझाव दिएको छ । गुल्मीमा ६ हजार पाँच सय ४१ हेक्टर क्षेत्रफलमा बर्खे र एक सय ५४ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?