© 2026
सल्यान ।
परम्परागत छवि बदल्दै आधुनिक प्रविधि र छिटोछरितो सेवा प्रवाहलाई प्राथमिकता दिएपछि जिल्ला हुलाक कार्यालय सल्यान देशभरकै उत्कृष्ट ‘नमुना हुलाक कार्यालय’ का रूपमा छनोट भएको छ । हुलाक सेवा विभागले १५२ औँ विश्व हुलाक दिवस तथा वार्षिक समीक्षाका अवसरमा सल्यान सहित देशभरका चार वटा जिल्ला हुलाक कार्यालयलाई नमुना कार्यालयका रूपमा छनोट गरी सम्मान गरेको हो ।
काठमाडौँमा आयोजित विशेष समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले जिल्ला हुलाक कार्यालय सल्यानका प्रमुख एवं हुलाक अधिकृत चिन्तामणि रेग्मीलाई प्रशंसा पत्र हस्तान्तरण गरेको कार्यालयले जनाएको छ ।
हुलाक अधिकृत रेग्मीका अनुसार यो सफलता अघिल्लो आर्थिक वर्षभरि कार्यालयले देखाएको एकीकृत कार्यसम्पादन, चुस्त सेवा प्रवाह र सेवाग्राहीप्रतिको उत्तरदायित्वको परिणाम हो । जिल्लाभर खटिएका सम्पूर्ण हुलाक कर्मचारीहरूको सामूहिक मेहनत र लगनशीलताका कारण सल्यान हुलाक राष्ट्रिय स्तरमै नमुनाका रूपमा स्थापित हुन सकेको उनले बताए ।
सल्यानका स्थानीय तहमा पनि हुलाक सेवालाई आधुनिक बनाउने क्रमलाई अगाडि बढाइएको छ। नेपाल सरकारको देशभरका ५० पालिका हुलाकलाई प्रविधिमैत्री बनाउने योजना अनुसार कपुरकोट गाउँपालिका स्थित हुलाक कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गरिएको छ ।
कार्यालयमा कम्प्युटर, बारकोड प्रिन्टर, स्क्यानर, ई-हाजिरी र सिसिटिभी जस्ता आधुनिक उपकरण जडान गरी सेवालाई पारदर्शी र प्रविधिमैत्री बनाइएको छ । बारकोड प्रणालीबाट चिठी, पार्सलको दर्तादेखि ट्र्याकिङसम्मको सुविधा उपलब्ध गराउनुका साथै कपुरकोटका ३ र ४ नम्बर वडामा सेम डे डेलिभरी सेवा सुरु गरिएको छ ।