© 2026
बाणगंगा । बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सामुदायिक वनलाई समुदायको समृद्धिसँग जोड्नुपर्ने बताएका छन्। मंगलबार बाणगंगा नगरपालिका–८ मा रहेको नवप्रभात सामुदायिक वनको १६औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले वनको आम्दानीबाट विकास निर्माणका काम गर्नुका साथै स्थानीय उपभोक्तालाई सीपयुक्त बनाउनुपर्नेमा जोड दिए।
वनको आम्दानीलाई स्थानीयको सीप विकास र आयआर्जनसँग जोड्न सके समुदायको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख प्रभात सापकोटाले सामुदायिक वनको संरक्षणसँगै वैज्ञानिक व्यवस्थापन र दिगो उपयोगमा जोड दिनुपर्ने बताए। वनबाट प्राप्त स्रोत र साधनको उचित सदुपयोग गर्दै वातावरण संरक्षण र स्थानीय समुदायको आर्थिक विकासलाई सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ छ ।
बाणगंगा नगरपालिका–८ का वडाध्यक्ष बाबुराम अर्यालले सामुदायिक वनको संरक्षण र दिगो उपयोग गर्दै त्यसबाट प्राप्त आम्दानीलाई स्थानीय उपभोक्ताको हित र समुदायको विकासमा लगाउनुपर्ने बताए।
वनका अध्यक्ष डिल्लीराज रेग्मीले वनलाई नीति र पद्धतिअनुसार सञ्चालन गर्न सके समृद्धि हासिल गर्न सकिने बताए। वन संरक्षण गर्नु भनेको रुख जोगाउनु मात्र नभई कार्बन, पानी र जैविक विविधताको संरक्षण गर्नुका साथै भावी पुस्ताको जलवायु सुरक्षित गर्नु पनि भएको उनको भनाइ थियो।
सभामा अध्यक्ष रेग्मीले संस्थाको प्रतिवेदन, सचिव सीता भुसालले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मी भुसालले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक रामप्रसाद पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। सभाले प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो।
कार्यक्रममा राधाकृष्ण भजन मण्डलीले भजन प्रस्तुत गरेको थियो भने सामुदायिक वनले विभिन्न विधामा उपभोक्तालाई सम्मान तथा सामासामाग्री वितरण गरेको थियो।
वनका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षता, उपाध्यक्ष मित्रलाल कँडेलको स्वागत मन्तव्य तथा सचिव सीता भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।