Butwal Today

गुणस्तरीय शिक्षाबिना समाजको विकास सम्भव छैन : मन्त्री घिमिरे

२८ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेले गुणस्तरीय शिक्षाबिना समाजको विकास सम्भव नहुने बताएका छन्। उनले शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै विकास निर्माणका काम पारदर्शी र गुणस्तरीय ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

सामाजिक विकास डिभिजन कार्यालय तौलिहवाले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको आर्थिक वर्ष २०८३र८४ का योजना तथा कार्यक्रमसम्बन्धी स्थानीय तहस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले यस्तो बताएका हुन्।
सामाजिक विकास डिभिजन कार्यालय तौलिहवाले अर्घाखाँची जिल्लाका विभिन्न स्थानीय तहमा रहेका विद्यालयका भवन निर्माण, भौतिक पूर्वाधार सुधार तथा अन्य शैक्षिक विकासका क्षेत्रमा काम गर्दै आएको छ।

कार्यालयमार्फत सञ्चालन भइरहेका योजना, बजेट तथा आगामी आर्थिक वर्षका कार्यक्रमबारे स्थानीय तहका प्रतिनिधिहरूलाई जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको सामाजिक विकास डिभिजन कपिलवस्तुका प्रमुख लक्ष्मण अर्यालले बताएका छन् ।

कार्यक्रममा अर्घाखाँची जिल्ला समन्वय समितिका प्रमुख जीमनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी भक्तिराम मरासिनी, शिक्षा समन्वय इकाई प्रमुख विष्णु बेल्वासे, सामाजिक विकास डिभिजन कार्यालय तौलिहवा, कपिलवस्तुका प्रमुख लक्ष्मण अर्याल, इन्जिनियर तीर्थ क्षेत्री लगायतले मन्तव्य राख्दै विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

उनीहरूले कार्यालयमार्फत सञ्चालन हुने योजना तथा कार्यक्रमको कार्यान्वयन, गुणस्तर र प्रभावकारिताका विषयमा आआफ्ना धारणा राखेका थिए।
अर्घाखाँचीका विभिन्न विद्यालयमा सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालन हुने विकास निर्माणका काम, योजना तथा कार्यक्रमबारे सामाजिक विकास डिभिजन कार्यालयका पुण्यप्रसाद न्यौपानेले जानकारी गराएका थिए।

कार्यक्रममा स्थानीय तहका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूलाई आगामी आर्थिक वर्षका योजना र कार्यक्रमबारे जानकारी दिँदै शिक्षा क्षेत्रको विकास र विद्यालयको भौतिक पूर्वाधार सुधारमा समन्वयात्मक ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?